काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल–माधव नेपाल समूहले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । विरोध सभामा सहभागी गराउन दाहाल–नेपाल समूहले काठमाडौं उपत्यका बहिरबाट बसमा मानिसहरू ल्याएका छन ।
मध्यान्ह १२ बजे भृकुटीमण्डपमा विरोधसभा हुनेछ । त्यस अघि काठमाडौंका विभिन्न ठाउँबाट जलुस निकाल्ने तयारी भएको छ ।
विरोध सभालाई नेकपाका अध्यक्षद्वय दाहाल र नेपालसहित शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निस्कनेछ । दाहाल–नेपाल समूहले यसअघि माघ ९ गते पनि काठमाडौंमा प्रदर्शन गरेको थियो । दाहाल–नेपाल समूहले २२ गते आमहड्ताल गरेको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भङ्ग गर्दै वैशाख १७ र २७ गते चुनावको घोषणा गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । निर्वाचन आयोगले दुबै नेकपालाई मान्यता दिएको छैन ।











प्रतिक्रिया