
काठमाडौं, २७ माघ । विभिन्न जिल्लाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले मंगलबार दिएको जानकारी अनुसार दाङ, झापा, रुपन्देही, कञ्चनपुर र चितवनमा गरी ती मानिसले ज्यान गुमाएका हुन् ।
समाचारअनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीस्थित चौवाखोलामा लु. ५६ प ९८१७ नम्बरको मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा पैदलयात्री सोही उपमहानगरपालिका–१९ पकरे बस्ने ७५ वर्षीय दिल बहादुर बुढाथोकी मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै झापाको गौरीगंज गाउँपालिका–९ बढिधापस्थित सडकमा को. १३ प २०४० नम्बरको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–९ बैगुनधुरा बस्ने ३९ वर्षीय पुरुषोत्तम फुँयालको घटनास्थलमै मृत्यु भएको छ ।
त्यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ शंकरनगरस्थित सडकमा लु. ३० प ८५६९ नम्बरको स्कुटरलाई सोमबार साँझ हाल नम्बर नखुलेको बसले ठक्कर दिँदा स्कुटर चालक बुटवल उपमहानगरपालिका–८ बस्ने २६ वर्षीया पुजा गहतराजको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने बसको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अरनिको बस्तीस्थित सडकमा से. ४ प ५५४६ नम्बरको मोटरसाइकलले सोमबार साँझ ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीया पोदेजोम तामाङ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी चितवनको रत्ननगर नगरपालिका–९ स्थित सडकमा ना।५ ख ५६७९ नम्बरको ट्रक र ना. ६२ प ८२३० नम्बरको मोटरसाइकल सोमाबर राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङ बस्ने २५ वर्षीया दुर्गा मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई पुरानो मेडिकल कलेज भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गोरखा गोरखा नगरपालिका–३ बस्ने २४ वर्षीय प्रबेश अर्यालको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।















प्रतिक्रिया