४ कार्तिक २०८३, बुधबार

आजदेखि नेपालमा कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप अभियान शुरू

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । आजदेखि नेपालमा कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप अभियान शुरु भएको छ ।

अक्सफोर्ड विश्वविद्यालय तथा आस्ट्राजेनेका कम्पनीले विकास गरेको अनि भारतीय सिरम इन्स्टिच्युटले उत्पादन गरेको दश लाख मात्राको कोभिशिल्ड खोप भारत सरकारले अनुदानमा दिएपछि माघ १४ गतेदेखि नेपालमा शुरु भएको खोप अभियान सोमवारदेखि दोस्रो चरणमा पुगेको हो ।

११ दिनसम्ममा देशभरिका करिब २०० केन्द्रहरूबाट १ लाख ८४ हजार जनाले पहिलो मात्राको खोप लगाएपछि पहिलो चरणको अभियान शनिबार सम्पन्न भइसकेको बताइएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोरोना भाइरस उपचार तथा व्यवस्थापनमा अग्रपङ्तिमा खटिएकाहरूलाई खोप लगाइएको छ ।

सोमबारदेखि शुरु हुने दोस्रो चरणमा भने सार्वजनिक कामका निम्ति भीडभाड हुने निजी तथा सरकारी कार्यालयका कर्मचारी एवम् धेरै मानिसहरूसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने जिम्मेवारी भएकाहरूलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयको योजना छ ।

यो चरणमा करिब तीन लाख मानिसलाई खोप लगाउने योजना मन्त्रालयको छ ।

दोस्रो चरणको खोपका लागि दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पताल, शिक्षण अस्पताल, सहिद गंगालाल अस्पताल र ललितपुरको पाटन अस्पताल केन्द्रबाट दोस्रो चरणको खोप लगाइने छ ।

जानकारी अनुसार सिभिल अस्पतालमा पत्रकारलाई, पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई, शिक्षण अस्पताल महाराजगञ्ज र बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति र विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइने छ ।

दोस्रो चरणको यो अभियान आगामी शुक्रवारसम्म जारी रहने बताइएको छ ।

खोप लगाउन पत्रकारका लागि सूचना विभागबाट जारी प्रेस प्रमाणपत्र अनिवार्य गरिएको छ । खोपका लागि पहिलो चरणको जस्तो अनलाइनमार्फत सूचीकृत हुन भने नपर्ने मन्त्रालयले जनाएको छ ।