बैतडी, २४ माघ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युको कारणबारे अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको प्राविधिकको टोली परिचालन गरिएको छ ।
बिहीबार किशोरीको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको थियो । अनुसन्धान थप सहज होस् भन्नका लागि धनगढीबाट तालिमप्राप्त कुकरसहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
बुधबार घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्ट मृत अवस्थामा लवलेक जंगलमा फेला परेकी थिइन् । किशोरीको शव फेला परेपछि घटनास्थलमा प्रहरीको टोली खटिएको र घटनास्थललाई सुरक्षित पारिएको छ ।
किशोरीको बलात्कारपछि हत्या भएको हुनसक्ने परिवारको आशंका छ । शव विभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरेको हुन सक्ने मृतक किशोरीका आफन्त शिवराज भट्ट बताए ।
उहाँले भन्नुभयो, ‘शरीरमा निलडाम, घाउ छन्, कपडा पनि च्यातिएको अवस्थामा थियो ।’
प्रहरीले भने मृतक किशोरीको शव परीक्षण पछि मात्रै बलात्कार भए नभएको बारेमा थाहा हुने जनाएको छ । दोषी पत्ता लगाइ कारवाहीको दायरमा नल्याउँदा सम्म शव उठाउन नदिने आफन्तहरूले जनाएका छन् । किशोरीले प्रयोग गरेको मोबाइल र पाठ्यपुस्तक भेटिएका छैनन् ।
मृतक किशोरी दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित सनातन धर्म माविका कक्षा १२ मा अध्ययनरत थिइन् ।
किशोरीको मृत्युपछि शोकमा दोगडाकेदार गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले विज्ञप्ति जारी गर्दै किशोरीको शोकमा गाउँपालिका अन्र्तगतका कार्यालय र सम्पूर्ण शैक्षिक संस्था बन्द रहने जानकारी दिए ।















प्रतिक्रिया