काठमाडौं, २३ माघ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक आयोगमा पदाधिकारी र राजनीतिक नियुक्तिहरूका विषयमा पार्टीको धारणा बनाउन तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । तनहुँमा रहेका पौडेलले बिहीबार पार्टी सभापति शेरबहादुर देउवालाई फोन गरेर बैठक बोलाउन आग्रह गरेका हुन् ।
‘केपी ओलीले यत्रो उपद्रो गर्दा पार्टी चुप लागेर बस्न हुन्न, एकातिर चुनाव पनि भन्ने, अर्कोतर्फ संवैधानिक आयोगमा असंवैधानिक बाटोबाट पदाधिकारी नियुक्ति गर्ने, हजारौं कार्यकर्तालाई राजनीतिक नियुक्ति दिने ?’ पौडेलले कान्तिपुरसँग भने, ‘यो गम्भीर विषयमा छलफल गर्नुपर्छ भनेर मैले सभापतिसँग बैठकको माग गरेको हुँ ।’
सभापति देउवाबाट प्रस्ट जवाफ नआएको उनले बताए । संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिका विषयमा पार्टीले औपचारिक धारणा नल्याएपछि पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह असन्तुष्ट भएका छन् । प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै निर्णय गर्न सकिने गरी अध्यादेश जारी गरी त्यसैका आधारमा बसेको बैठकले गरेको सिफारिसलाई कांग्रेसले पुस ५ मै नमान्ने निर्णय गरेको थियो ।
नियुक्ति भएपछि भने पार्टीले औपचारिक धारणा ल्याएको छैन । संस्थापनइतर खेमाका नेताले सामाजिक सञ्जालमा कडा विरोध गर्दै आएका छन् । नेता शेखर कोइरालाले असंवैधानिक र बदनियतपूर्ण तरिकाले गरिएको संवैधानिक नियुक्ति कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् । उनले सबै नियुक्ति तत्काल खारेज गर्नुपर्ने बताए । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया