१ कार्तिक २०८३, आइतबार

परीक्षा आधा घण्टा ढिलो सुरू, ट्याक्सीबाट जबर्जस्ती ओरालिए बिरामी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । नेकपा दाहाल–नेपाल समूहले गरेको आमहडतालका कारण बिहीबार एलएलबीका परीक्षार्थी प्रभावित भएका छन् । बुधबारदेखि सुरु भएको एलएलबी दोस्रो वर्षको परीक्षाको दोस्रो दिन प्रोपर्टी ल विषयको परीक्षा थियो । आमहडतालका कारण बिहान ८ बजे तोकिएको परीक्षा केही ढिलो गरी सुरु भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा सञ्चालन भए पनि धेरै परीक्षार्थी अनुपस्थित थिए । त्रिचन्द्र बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा ६ सय परीक्षार्थीमध्ये ३ सय ३० जनामात्र उपस्थित भएको केन्द्राध्यक्ष तथा सहायक क्याम्पस प्रमुख एमपी कोइरालाले बताए । ‘एलएलबी कुनै विषयमा स्नातक गरेपछि पढ्न पाइने विषय हो,’ उनले भने, ‘त्यस कारण परीक्षार्थी शतप्रतिशत उपस्थित हुँदैनन् । तर बिहीबार दोस्रो दिनको परीक्षामा धेरै अनुपस्थित रहेको पाएका छौं । आमहडतालकै कारण उपस्थित भएनन् कि भन्ने लागेको छ ।’

बागबजारस्थित पद्मकन्या क्याम्पस केन्द्रका परीक्षार्थी विकास राईले सवारीसाधन नचल्दा सास्ती बेहोर्नुपरेको बताए । ‘अचानक आमहडताल घोषणाले हामी परीक्षार्थीलाई सास्ती भएको छ,’ कोटेश्वरमा बस्दै आएका उनले भने, ‘परीक्षा केन्द्र कसरी पुग्ने भन्ने चिन्ताले सतायो । हिँडेरै जाँच दिन पुगियो ।’ पाटन संयुक्त क्याम्पस केन्द्रकी परीक्षार्थी मञ्जु खड्काले पनि आमहडतालले अन्योलमा परेको बताइन् । ‘बल्लतल्ल हिँडेर परीक्षा केन्द्र पुगियो र परीक्षा हुने कि नहुने भन्ने अन्योल भयो,’ उनले भनिन्, ‘परीक्षार्थीको अनुरोधले आधा घण्टा ढिलो गरी जाँच दिन पायौं । पठाओमा फर्किएँ ।’

त्रिभुवन विश्वविद्यालयअन्तर्गत बुधबारदेखि एलएलबी दोस्रो वर्ष नियमिततर्फको परीक्षा सुरु भएको हो । उक्त तहका विभिन्न १३ विषयको परीक्षा फागुन ५ गतेसम्म चल्नेछ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार एलएलबीमा देशभरबाट १३ हजार परीक्षार्थी सहभागी छन् । त्रिविअन्तर्गत शुक्रबारदेखि स्नातकोत्तर वार्षिक प्रणाली (पुरानो कोर्स) को परीक्षा सुरु हुनेछ । एमए राजनीतिशास्त्र, एमपीए र एमएड्का गरी १६ हजार परीक्षार्थी रहेको नियन्त्रक जोशीले बताए । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।