१ कार्तिक २०८३, आइतबार

बाँदर र बँदेलले अन्नबाली सखाप, किसान बने निरास

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, २१ माघ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाअन्तगर्तका विभिन्न ठाउँमा लगाइएका अन्नबाली तथा तरकारी खेती बाँदर र बँदेलले नष्ट पारेका छन् । दिनरात मेहनत गरेर उब्जाएको अन्नबाली भित्र्याउन नपाउँदै बाँदर र बँदेलले सखाप पारेपछि किसान निरास बनेका छन् ।

दिनभरि बाँदरको ड्युटी गरेर जोगाएको अन्नबाली तथा तरकारी राति भएपछि बँदेलबाट जोगाउन नसक्दा त्यस ठाउँका किसानहरूको खेतीपाती गर्ने मनोबल घट्दै गएको छ । जसका कारण खेतीयोग्य जमिन बाँझो छोड्न थालिएको छ ।

दुई सयदेखि तीन सयसम्म बाँदरको बथान एकैपटक पसेर किसानले उत्पादन गरेको गहुँ, जौ, केराउ तथा आलु नष्ट पार्नुका साथै घरभित्र राखेको अन्नबाली, फलफूलदेखि घरमा राखिएको खाने कुरा खाइदिन थालेपछि किसान निरास बन्नपुगेका हुन् । उता बँदेलले पनि रातभरि किसानले लगाएको आलुलगायतका तरकारी रातभरि खान मन लागेको खाने र खान मन नलागे सबै खनेर नष्ट गर्दा उक्त ठाउँका किसानहरू मर्कामा परेका छन् ।

गर्मी मौसममा असिना र पसिना गरी लगाएको अन्नबाली तथा जाडो मौसममा चिसोसँगै कठ्यांग्रिएर उब्जाएको तरकारी खेती घरमा ल्याउन नपाउँदै खेतबारीमा नै रित्तिन थालेपछि उक्त ठाउँका किसान चिन्तित बनेका छन् । यति बेला सो ठाउँमा बाँदरले अन्नबाली खाइदिने मात्र नभई धपाउन गएका किसानहरूलाई उल्टै जाइलाग्ने गरेपछि उनीहरू असुरक्षित बन्दै गएका छन् ।

गाउँका युवाहरू धन कमाउन वैदेशिक रोजगारमा गएपछि उक्त इलाकामा अधिकांश महिला, वृद्धा तथा बालबालिका मात्र बसोवास गर्ने भएकाले बाँदर तथा बँदेल धपाउन निकै कठिनाइ भएको छ । महिला र बालबालिकाले बाँदर धपाउन खोज्दा उल्टै उनीहरूमाथि नै झम्टिने गरेको सो गाउँपालिका–८ का किसान रामप्रसाद भुषाल बताउँछन् ।

त्यस्तै सोही ठाउँका दीपक पुनले भित्र्याउन लागेको अन्नबाली तथा तरकारी खेती बाँदर र बँदेलले यसरी नष्ट बनाएपछि खेतीपाती गरेर खाने किसानले कसरी जीविकोपार्जन गर्ने होला भन्ने चिन्तामा परेका छन् । अन्यत्त्र बसाइँ सरेर जाने अवस्था नभएको बताउँदै पुन भन्छन्, ‘जंगली जनावर पनि गरिब किसानमाथि नै जाइलाग्दा उन्मुक्ति पाउने बाटो कसरी खोज्ने होला ।’

वनजंगलनजिकै भएका कारण बाँदर र बँदेल धपाउन निकै कठिनाइ परेको तथा घरवरिपरि फलफूल लगाउन, बिस्कुन सुकाउन र अन्नबाली भकारीमा थन्क्याउन समेत नपाएको सोही ठाउँका स्थानीय वासिन्दा नाराण पाण्डे बताउँछन् । ‘एउटा बगाल बल्लतल्ल गाउँबाट धपायो अर्को बगाल कताबाट आउँछ पत्तै हुँदैन,’ उनले भने ।

केही समयअघि किसानको दुःख देखेर सो गाउँपालिकाले बाँदर धपाउने युपिभिसी पाइप र कार्बाइडको प्रयोगबाट बनाइएको ‘मोंकी एअर गन’ उपलब्ध गराएको बताउँदै पाण्डे भन्छन्, ‘उक्त मोंकी एअर गन पड्काउँदा केही समय त बाँदर भाग्यो तर पछिल्ला दिनमा जति पड्काए पनि भाग्न छाडेको छ ।’

त्यसैगरी बाँदर धपाउन गाउँपालिकाले छुट्याएको रकमबाट एक गाउँका २/२ जना व्यक्तिलाई रकम उपलब्ध गराई बाँदर लखेट्दा पनि अन्नबाली तथा तरकारी खेती जोगाउन निकै कठिनाइ परेको पीडितहरू बताउँछन् । मीन मगरले राजधानी दैनिकमा समाचार लेखेका छन् ।