सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

‘पुटिनको दरबार’: रुसी राष्ट्रपतिका अर्बपति साथीद्वारा उक्त सम्पत्ति आफ्नो भएको दाबी

दैनिक नेपाल २०७७ माघ २० गते ८:२६

मस्को, २० माघ । रुसी व्यापारी आर्काडी रुटन्बियर्गले कृष्णसागरको तटमा रहेको एउटा विलासी दरबारको मालिक राष्ट्रपति भ्लादिमिर पुटिन नभई आफू भएको बताएका छन् ।

राष्ट्रपति पुटिनका आलोचकले भने उक्त विशाल दरबार पुटिनकै भएको आरोप लगाएको बीबीसीले जनाएको छ ।

क्रेम्लिनका कट्टर आलोचक एलेक्सी नभाल्नीले उक्त दरबारबारे बनाइएको भिडिओ सार्वजनिक गरेपछि त्यो छोटो समयमै रुसभरि भाइरल बनेको थियो ।

पुटिनको दरबार नाम दिइएको उक्त भिडिओ अहिलेसम्म १९ करोडभन्दा बढी पटक हेरिसकिएको छ । गत साताको सुरुमा राष्ट्रपतिले उक्त भिडिओमा गरिएको दाबीको आलोचना गरेका थिए ।

राष्ट्रपति पुटिनसँग निकट सम्बन्ध रहेका अर्बपति रुटन्बियर्गले गत साता त्यो सम्पत्ति आफ्नो भएको भनी सार्वजनिक दाबी गरेका थिए ।

क्रेम्लिन समर्थक म्यास टेलिग्राम च्यानलबाट प्रसारण गरिएको अन्तर्वार्तामार्फत् उनले उक्त खुलासा गरेका थिए ।

‘केही वर्षअघि मैले ऋणदातासँग सम्झौता गरेको थिएँ र केही वर्षअघि म उक्त क्षेत्रको हकदार बनेको थिएँ’, रुटन्बियर्गलाई उद्धृत गर्दै उनको प्रेस कार्यालयले जनाएको छ ।

रुटन्बियर्गले उक्त दरबारको निर्माण कार्य ूकेही वर्षमा सकिनेू र त्यसपछि अपार्टमेन्टसहितको होटल बन्ने ठानिएको बताएका छन् ।

रुसभरि मुख्य विपक्षी नेतालाई थुनामा राखिएको विरोधमा आन्दोलन चर्किएको बेला रुटन्बियर्गले विवादित सम्पत्ति आफ्नो भएको दाबी गरेका हुन् ।

जेलमा रहेका क्रेम्लिनका विपक्षी नेता एलेक्सी नभाल्नीको टोलीले ज्यानुअरी महिनाको सुरुमा दरबारबारे बनेको वृत्तचित्र प्रकाशित गरेपछि उक्त सम्पत्तिबारे विवाद चर्चाको विषय बन्दै आएको छ ।

उक्त टोलीको खोजमूलक भिडिओमा उक्त दरबार बनेको सम्पत्ति एक अर्ब पाउन्ड बराबरको रहेको र त्यसका लागि इतिहासको सबैभन्दा ठूलो घुस दिइएको आरोप लगाइएको छ ।

बीबीसीका टिम ह्यूलले सन् २०१२ मा उक्त रहस्यमय दरबारबारे समाचार गरेका थिए। त्यतिबेला उनले पुटिनका तत्कालीन व्यापारसम्बन्धी सहयोगीलाई उद्धृत गरेका थिए ।

ती सहयोगीले दरबार खासगरी पुटिनको व्यक्तिगत प्रयोगका लागि बनाइएको आरोप लगाएका थिए तर प्रवक्ताले भने त्यस्तो आरोप त्यतिबेला खण्डन गरिदिएका थिए ।

गत साताको सुरुमा, रुसी राष्ट्रपतिले आफू र आफ्नो परिवारको स्वामित्व रहेको भन्ने कुरा ठाडै अस्वीकार गरे र उक्त भिडिओलाई अल्छीलाग्दोको सङ्ज्ञा दिए ।

प्रतिक्रिया
सम्बन्धित