१ कार्तिक २०८३, आइतबार

बीपी प्रतिष्ठानमाथि मन्त्रीको छानबिन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, २० माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भएको आर्थिक अनियमिततालाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताएका छन्। अन्नपूर्ण पोस्ट्मा सोमबार ‘बीपी प्रतिष्ठान भ्रष्टाचारको अखडा’ शीर्षक समाचार प्रकाशन भएपछि मन्त्री त्रिपाठीले छानबिन प्रक्रिया अगाडि बढाएका छन्।

‘स्वास्थ्य क्षेत्रमा हुने अनियमितता कदापि मान्य हँुदैन। अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारलाई हामीले गम्भीर रूपमा लिएका छौं’, मन्त्री त्रिपाठीले भने, ‘उचित छानबिन हुनेछ।’ आफूले यसअघि सम्हालेका मन्त्रालयमा पनि व्यापक सुधार गरेको स्मरण गर्दै उनले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरी सर्वसाधारणको ज्यान सुरक्षित गर्ने अभियानमा आफू लागिपरेको बताए।

यसैबीच, मन्त्री त्रिपाठीले प्रतिष्ठानमा भएको अनियमितताबारे उपकुलपति डा. ज्ञानेन्द्र गिरी र रजिस्ट्रार मोहनचन्द्र रेग्मीलाई फोन गरी स्पष्टीकरण सोधेका छन्। उनले नियमविपरीत गरेका क्रियाकलाप तत्काल बन्द गर्नसमेत निर्देशन दिएको प्रतिष्ठान स्रोतले बताएको छ। स्रोतका अनुसार मन्त्री त्रिपाठीले गिरी र रेग्मीलाई लिखित जवाफसमेत मागेका छन्।

प्रतिष्ठानका चिकित्सिक, कर्मचारीले पनि अनियमिततामा आँखा चिम्लिन नहुने माग राखेका छन्। कर्मचारी कल्याण समाजका अध्यक्ष उमेश थापाले प्रतिष्ठानमा भएको अनियमितताको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। उनले अवैध तरिकाले प्रतिष्ठान पदाधिकारीहरूले लिएको सुविधा कटौती गर्न र स्वास्थ्य सेवा सुधार गर्नसमेत माग राखेका छन्। रत्नप्रसाद आचार्यले अन्नपूर्ण पाेस्ट दैनिकले खबर लेखेका छन् ।