१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीको निर्देशनमा पशुपतिमा सुनको जलहरी राखिँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । पशुपति क्षेत्र विकास कोषले प्राचीन स्मारक संरक्षण ऐन र शैव दर्शनविपरीत हुने गरी पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्ने भएको छ । प्राचीन स्मारक संरक्षण ऐनले सम्पदा स्थलमा कुनै पनि नयाँ संरचना राख्न निषेध गरेको छ ।

यसअघि कोषले शिवलिंगमा सुनको जलहरी राख्न लाग्दा मन्दिरकै भण्डारी, स्थानीय बासिन्दा र सम्पदा संरक्षणकर्मीको विरोधले काम रोकिएको थियो । प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि सुनको जलहरी राख्ने प्रक्रिया अघि बढेको हो । ‘शैव दर्शनअनुसार पशुपतिनाथलाई जलहरी लगाइदिन मिल्दैन,’ पशुपतिनाथका पालोवाला भण्डारी विजयराज भण्डारीले भने, ‘हामी यस्तो कामको विरोध गर्छौं ।’

कोष सञ्चालक परिषद्को बुधबार बसेको बैठकले सुनको जलहरी राख्ने काम अघि बढाउने निर्णय गरेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । ‘यही शिवरात्रिसम्ममा राखिसक्ने गरी काम अघि बढेको छ,’ उनले भने । प्रधानमन्त्री ओलीले सोमबार पशुपतिमा दर्शन र संकल्प पूजा गर्ने क्रममा काम अघि बढाउन निर्देशन दिनुका साथै सरकारले तत्काल ३० करोड रुपैयाँ उपलब्ध गराउने घोषणासमेत गरेका थिए ।

कोषले तीन वर्षअघि नै १ सय ४१ किलो सुनको जलहरी राख्ने गरी प्रक्रिया अगाडि बढाएको थियो । त्यस क्रममा पटकपटक सार्वजनिक सूचनासमेत निकालिएको थियो । तर विरोधपछि प्रक्रिया अघि बढेको थिएन । ‘जलहरी राख्ने मुद्दा लगभग मृत अवस्थामा थियो । अहिले प्रधानमन्त्री ओलीले ब्युँताएका छन्,’ कोषका पूर्वकोषाध्यक्ष तथा वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले भने, ‘हामी यो काम हुन दिँदैनौं ।’

तीन वर्षअघि भारतीय मूलका एक अरबी व्यापारीले पशुपतिको दर्शन गर्ने क्रममा सुनको जलहरी राख्न ८० किलो सुन दिने वचन दिएका थिए । त्यही बेलादेखि कोषले जलहरी राख्ने प्रक्रिया अघि बढाएको थियो । भण्डारीले समेत जलहरी राख्ने प्रक्रियाको विरोध गरेका थिए ।

विरोध बढेपछि विदेशी नागरिकबाट नभई भक्तजनबाटै सहयोग जुटाएर जलहरी राख्ने निर्णय कोषले गर्‍यो । कोषका कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा सहयोग संकलन समितिसमेत गठन गरिएको थियो । गत वर्षको शिवरात्रिमै कोषले सहयोग उठाउन सुरु गरेको थियो । जलहरी राख्न एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । भक्तजनबाट ४० लाख रुपैयाँ मात्र उठाएको कोषले जनाएको छ ।

कोष सञ्चालक समितिले चन्दा उठाउन गत वर्ष कार्यविधिसमेत पारित गरेको थियो । कार्यविधिमा सहयोग गर्न चाहनेले कम्तीमा १ तोला र बढीमा १ किलोसम्म सुन सहयोग गर्न सक्ने व्यवस्था थियो । सहयोग गर्न चाहनेले त्यही दिनको सुनको बजार भाउअनुसार रकम बैंकमा दाखिला गर्नुपर्ने प्रावधान थियो ।

शिवरात्रिलाई लक्ष्य गरी गत वर्ष पशुपतिनाथ मन्दिरमा पनि दुई वटा घैलासमेत राखिएको थियो । घैलामा गोप्य रूपमा स्वेच्छाले पैसा राख्न सकिने व्यवस्था थियो । घैलामा पैसा राख्नेको नाम रेकर्ड हुँदैन । बैंक दाखिला गरेर १ तोलादेखि १ किलोसम्म सहयोग गर्नेको भने अभिलेख राख्ने कार्यविधि थियो । दामाेदर न्याैपानेले कान्तिपुर दैनिकले खबर छापेकाे छ ।