१ कार्तिक २०८३, आइतबार

विदेशमा हन्डर, फर्किएर भट्टामा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, १७ माघ । गौशाला–१० भरतपुरका ३९ वर्षीय जुलमी मुखिया धन कमाउन भनेर ६ वर्षअघि मलेसिया उडेका थिए। तर, वैदेशिक रोजगारीको कमाइले ‘गरिबको बिल्ला’ फेर्ने उनको सपना अधुरै रह्यो। त्यसमाथि विदेश जाँदा लागेको ऋणको बोझले थिचेको छ। उनले तीन लाख ऋण चुक्ता गर्नु त छँदै छ, साँझबिहान हातमुख पनि जोर्नु छ। त्यही भएर उनी अहिले गाउँकै बाबा इँटा उद्योगमाश्रम बेचिरहेका छन्।

‘महाजनबाट १ लाख ३० हजार ऋण लिएर एजेन्टलाई दिएँ। त्यसपछि उसले मलेसिया उडायो। तीन वर्षपछि काम गर्दैगर्दा दाहिने खुट्टा भाँचियो। ठूलो दशा लाग्यो’, उनले भने, ‘त्यहाँ काम गर्नै सकिनँ अनि फर्केर आएँ। खुट्टाको उपचारमै दुई लाख खर्च भयो। पछि आएर बूढीऔंलामा भित्रबाट घाउजस्तो देखापर्‍यो। खुट्टा फुलियो। जँचाउँदा कुष्ठरोग देखियो। एक वर्ष औषधि खाएँ। बल्ल ठीक भएको छु।’

विदेशमा कमाइ गर्दा उनले छोराछोरीलाई बोर्डिङमा पढाउँथे। आम्दानी गुमेपछि सरकारीमा पढाइरहनुपरेको छ। ‘महाजनको ऋण कहाँबाट चुक्ता गर्ने ? छोराछोरीलाई कापीकिताब केले किन्ने ? लत्ताकपडा कहाँबाट लिएर आउने ?’, उनले दुःखेसो पोखे, ‘त्यसका लागि काम त गर्नै पर्छ। दुःख जति खेप्नुपरे पनि इमानदारीमै बाँच्छु।’

इँटाभट्टामा उनी मात्र होइन, उनका नाबालक छोराहरू १० र १२ वर्षका सुजित र अमित पनि काम गर्छन्। ‘दुःखलाई जित्न विदेश गएँ। तर, त्यहाँबाट हारेरै फर्किनुपर्‍यो। अहिले इँटा बनाउने काम गर्दै छु’, उनले भने, ‘भनेअनुसार काम विदेशमा नदिएर एजेन्टले ठग्यो। खुट्टा टुटेपछि भाग्यले पनि छल्यो।’ राजकरण महताेले अन्नपूर्ण पाेस्ट दैनिकमा खबर लेखेका छन् ।