काठमाडौं, १६ माघ । कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाकालाई सरकारले खुला गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको हो ।
यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको हो । भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपाती गर्नसमेत सहजै ओहोरदोहोर गर्न पाएका थिएनन् ।
गत चैत १० देखि नेपाल–भारत सीमा नाका सिल गरिएकामा भारततर्फका १३ र चीनतर्फको एक नाका गत साउन २६ मा खुला गरिएको थियो । भारततर्फ १ हजार ८ सय ८० किमि सीमामध्ये तराई/मधेसका १० र हिमाली/पहाडी क्षेत्रका तीन तथा चीनतर्फ रसुवागढी/केरुङ नाकाबाट आउजाउ अनुमति दिइएको थियो । सीमा नाका निर्बाध खुलाउने वा आउजाउका निम्ति निश्चित नाका तोक्ने भन्नेमा गृह, परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयका अधिकारीबीच लामो छलफल र समीक्षा भएको थियो ।
गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको नेतृत्वमा यससम्बन्धी छलफल र समीक्षापछि थप १६ नाका खुलाउने प्रस्ताव गृहमन्त्री रामबहादुर थापाले मन्त्रिपरिषद्मा पेस गरेका थिए । पछिल्लोपटक खोलिएका नाकाबाट नेपालीले भारतीय बजार पुगी तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न पाउनेछन् ।
गृह मन्त्रालयका अनुसार खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा (बारा), सिम्रौनगढ (बारा), त्रिवेणी (पूर्वी नवलपरासी), महेशपुर (पश्चिम नवलपरासी), तौलिहवा (कपिलवस्तु), कोइलाबास (दाङ), सुरजपुर (बर्दिया) र तातोपानी (सिन्धुपाल्चोक) नाका खुला गरिएको हो । यसअघि पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), रानी (मोरङ), माडर (सिरहा), गौर (रौतहट), वीरगन्ज (पर्सा), रसुवागढी (रसुवा), कृष्णनगर (कपिलवस्तु), बेलहिया (रूपन्देही), जमुनाह (बाँके), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कञ्चनपुर), खलंगा/पुलाघाट (दार्चुला) र झुलाघाट (बैतडी) बाट मात्रै सर्वसाधारणले सहज आवागमन गर्न पाउँथे ।
गृहले खुला गरिएका सबै नाकाबाट हुने आवागमनको जनस्वास्थ्यसहित अभिलेख राख्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार यी नाका हुँदै नेपालीले निर्बाध र विदेशीले निश्चित सर्त र बन्देज पालना गरेर आवागमन गर्न पाउने छन् । भारततर्फका नाकाबाट भारतीय नागरिक मात्रै र चीनतर्फका नाकाबाट चीनका नागरिक मात्रै आउन पाउने छन् । भारत र चीनबाहेक देशका नागरिक हवाई मार्गबाट मात्रै आउन पाउने छन् ।
विदेशीको हकमा भिसा अवधि र कोभिड परीक्षणको तीन दिनभित्रको नेगेटिभ रिपोर्ट भएका, नेपालमा कार्यरत भएको कागजात खुल्ने, कूटनीतिक नियोग र नेपाल सरकारले अनुमति दिएका विदेशीलाई मात्रै स्थलमार्गबाट प्रवेश अनुमति दिइने प्रवक्ता बुढाले बताए । भारतीय नागरिकका हकमा राहदानी आवश्यक नपरे पनि स्वास्थ्य मापदण्ड र यसअघि भारतसँग सीमा जोडिएका तराई/मधेसका १० र पहाडका ४ जिल्लाका १४ वटा नाकाबाट मात्रै आवागमन खुला गरिएको थियो । बन्द नाका पहिलेकै स्वरूपमा निर्बाध खुलाउनुपर्ने दबाबपछि सरकारले नाकाबाट हुने आवागमन, त्यसको औचित्य, आवश्यकता, आर्थिक कारोबारलगायत आधारमा नयाँ निर्णय लिएको हो ।
कोरोना महामारीको त्रास कम भएसँगै सबै नाका खुलाउनुपर्ने दबाबमा सरकार छ तर महामारीका बेला र त्यसपछिको अवस्थामा कस्ता रणनीति अपनाउने भन्नेमा सरकारले ठोस निर्णय लिन सकेको छैन । नाका नखुलेकै कारण चोरबाटो र आर्थिक सेटिङमा आवागमन हुने गरेको आरोप प्रशासन र प्रहरीमाथि लाग्दै आएको थियो । कान्तिपुर दैनिकमा मातृका दाहालले समाचार लेखेका छन् ।















प्रतिक्रिया