शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

थप २ स्थानमा आजदेखि ट्राफिक लाइटबाट सवारी व्यवस्थापन शुरू

दैनिक नेपाल २०७७ माघ १५ गते १३:३९

काठमाडौं, १५ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै आजदेखि कृष्ण पाउरोटी चोक र गैह्रीधारामा नयाँ ट्राफिकलाइट जडान गरी सञ्चालनमा ल्याएको हो ।

महाशाखाले कृष्ण पाउरोटी चोकमा प्राइम कमर्सियल बैंक लिमिटेड र गैह्रीधारामा सनराइज बैंकसँग समन्वय गरी नयाँ ट्राफिकलाइट जडान गरेको हो ।

नयाँ जडान गरिएको कृष्णपाउरोटी चोकको ट्राफिकलाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र प्राइम बैंकका एसिसटेन्ट जेनरल मेनेजर अनिता प्रधानले संयुक्त रुपमा उद्घाटन गरे भने गैह्रीधाराको ट्राफिकलाइट महाशाखा प्रमुख भट्टराई र बैंकका सीईओ जनक शर्मा पौडेलले गरेका हुन् ।

ट्राफिक प्रहरी महाशाखा र बैंकका पदाधिकारीहरु उपस्थित उक्त उद्‌घाटन कार्यक्रममा एसएसपी भट्टराईले काठमाडौं उपत्यकामा भइरहेको चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइदै आएको बताए ।

‘हामी ट्राफिक व्यवस्थापनलाई प्रविधि तर्फलग्ने प्रयासरत छौं, यसका लागि सडक विभाग बाहेक स्थानीय निकाय, विभिन्न बैंक वित्तीय संघसंस्थाहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै आईरहेका छौं’, एसएसपी भट्टराईले भने, ‘आज जडान भएका लाइट त्यसैको परिणाम भएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाईट राख्न हातेमालो गर्ने योजना छ ।’

कार्यक्रममा प्राईम बैंकका एजिम प्रधानले बैंकको सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई लाईटले सहयोगी भुमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग सहकार्य गर्ने बताए ।

यस्तै सनराइज बैंकका सीईओ पौडेलले ट्राफिकलाइटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपूर्ण रोल खेल्ने बताए । पछिल्लो समय महाशाखाले प्रबिधिलाई जोड दिदै ट्राफिक लाईट जडानमा खेलेको भुमिकाको समेत प्रशंसा गरे ।

महाशाखाले हालसम्म उपत्यकाको मुख्य मुख्य ३० वटा चोकहरुमा ट्राफिकलाइटबाट ट्राफिक व्यवस्थापन गर्दै आएको छ । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउँदै दुर्घटना न्युनिकरणका लागि आगामी दिनहरुमा अन्य चोकहरुमा लाइट जडानका लागि समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।

ट्राफिक लाइट सञ्चालनमा आएका चोकहरुमा लाइटको पूर्ण पालना गरिदिनु हुन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित