शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रचण्डको ‘भैँसीपूजा काण्ड’फेरि उब्जियो

दैनिक नेपाल २०७७ माघ १५ गते १०:१०

काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पशुपतिनाथ मन्दिरको पूजा र भैँसी पूजामा फरक रहेको बताएका छन् ।

सल्लाहकार थापाले बिहीबार फेसबुकमा स्टाटस लेखेर प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा गरेको पूजाको प्रशंसा भएको बताएका छन् ।

केही दिनअघि प्रधानमन्त्री ओलीले पशुपतिनाथको मन्दिरमा पूजाआजा गरेको विषय सर्वत्र प्रशंसा भएको थापाले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले माघ १२ गते बिहान पशुपतिनाथ मन्दिरमा संकल्प पूजा गरेका थिए ।

सल्लाहकार थापाले पशुपतिनाथमा पूजाआजाका लागि पुगेका प्रधानमन्त्री ओली र भैंसी पूजा गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’का बेग्लाबेग्लै तस्बिर फेसबुकमा राखेर पशुपतिनाथमा पूजाआजा गरेजस्तो भैंसी पूजा स्वभाविक मानिँदैन भनेका छन् ।

‘प्रधानमन्त्री एवं पशुपति विकास कोषका संरक्षक केपी शर्मा ओलीले माघ १२ गते बिहान ८ः३० बजे श्री पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माण कार्यको निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नुभयो,’ उनले लेखेका छन् ।

‘सुनको जलारी निर्माणको मन्दिरको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने प्रतिबद्धताको घोषणा गर्नुभयो’, थापाले भनेका छन् ।
थापाले पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १४१ किलो सुनको जलारी निर्माणको सुनिश्चितता भएको बताएका छन् ।

उनले भने, ‘दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ ।’

थापाले राखेको दोस्रो तस्बिर प्रचण्डको छ । ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि नेपकपामा प्रचण्ड–माधव समूह बनाएर प्रचण्ड विरोधका कार्यक्रम गरिरहेका छन् ।

‘पुष्पकमल दाहाल प्रचण्डले आफ्नो शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियो। भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक मानिँदैन’, थापाले भने, ‘बुझ्ने आ–आफ्नै स्तर हुन्छ । फरकचाहिँ यत्ति हो !’

तत्कालीन माओवादीका अध्यक्ष हुँदा २०६६ माघ २९ मा भैंसी पूजा गरेको भन्दै प्रचण्डको आलोचना भएको थियो । त्यसबेला उनले ग्रह शान्तिका लागि भन्दै भैंसी पूजा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित