बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

काठमाडौंमा उत्तमद्वारा पाँच तलाको घर कब्जा, दिक्क भयो वडा कार्यालय र प्रहरी

दैनिक नेपाल २०७७ माघ १४ गते १८:०६

काठमाडौं, १४ माघ । काठमाडौं महानगरपालिका– २६ गंगबु आवास क्षेत्रमा रहेको भूमादेवी गौतम पौडेलले घर खाली गराउन वडा कार्यालयसहित सरोकारवाला निकायसँग अनुरोध गरेकी छिन् ।

घर भाडामा बसेका उत्तम कुमारले अटेर गरेर भाडा नतिरेको र घर खाली गर्न आग्रह गर्दा समेत खाली गर्न नमानेको भन्दै गौतमले वडा कार्यालयमा उजुरी दिएकी थिइन् । वडाध्यक्ष ख्यामराज तिवारीले काठमाडौं महानगरपालिकाको कानूनी सल्लाहकारसँग राय लिएर घर खाली गराउने प्रक्रियामा अगाडि बढेको बताएका छन् । उनले कानून र नियमले जे भन्छ त्यही गर्ने बताएका छन् ।

उत्तम कुमारले अदालतले घर खाल गर्न नभनेकाले आफूले घर खाली नगरेर बसेको दाबी गरेका छन् ।

‘घर भूमादेवी गौतम पौडेलको नाममा छ । भूमादेवीले घर खाली गराइपाउँ भनेर वडा कार्यालयमा निवेदन हाल्नुभएको छ’, वडाध्यक्ष तिवारीले भने, ‘मैले उत्तम कुमारलाई पत्र लेखे । सात दिनभित्र आउनु, सात दिनभित्र नआए नियमानुसार हुन्छ भने ।’

‘उत्तम कुमार पुनरावेदन अदालत जानुभयो । पुनरावेदन अदालतले अन्तरिम आदेश जारी गरेन’, तिवारीले भने, ‘अन्तरिम आदेश जारी नगरेपछि हामीले घर खाली गर्न भनेर प्रहरीलाई पत्र काट्यौँ । उत्तम कुमारफेरि उच्च अदालत जानुभयो । उच्च अदालतले फेरि पनि निषेधाज्ञा दिएन ।’

वडाध्यक्ष तिवारीले भनेका छन्, ‘हाम्रो महानगरपालिकाको कानूनी सल्लाहकारको राय लिएँ । हामी त रोहबरमा बस्ने हो । कानूनी रुपमा उत्तम कुमारले घर खाली गर्नुपर्छ । काजपत्रले त्यही देखिन्छ ।’

घर कब्जा गरेर बसेका उत्तम कुमारले अदालतले भन्यो भने आफू घर खाली गर्न तयार रहेको बताएका छन् । ‘अदालतले खाली गर्न भनेको छ र ? जिल्ला अदालतको अन्तिम फैसला हो ? उनले प्रश्न गर्दै भनेका छन् ।

‘पुनरावेदनमा मुद्धा भएको छ । खारेज भएको छैन’, कुमारले भने, ‘जिल्लामा लेनदेनको असुलउपर गर्नुपर्छ भनेर देखिन्छ । ७० दिनको म्याद दियो पुनरावेदन गर्नु भनेर । पनरावेदन भइसकेको छ ।’

कुमारले पौडेलविरुद्ध उच्च अदालतमा काठमाडौं जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि उच्च अदालत ललितपुरमा पुनरावेदन गरेका छन् । जिल्ला अदालतबाट सफाइ पाएको मुद्धासँग घुरको कुनै सम्बन्धी नरहेको पीडित पौडेलको दाबी छ । काजगपत्रले पनि पौडेलको घरमा उत्तम कुमारको कुनै हकदाबी गर्नुपर्ने कारण नरहेको देखाएको छ ।

‘निषेधाज्ञाको रिट मात्रै खारेज गरेको छ । कानून बमोजिम गर्नु भनेर वडालाई भनेको छ । वडाले कानून बमोजिम गर्नुपर्‍यो’, कुमारले भने, ‘रिट मात्रै हो खारेज भएको । फैसलामा कतै पनि घर खाली गर्नुपर्ने भनेर लेखेको छैन । मेरो जग्गा लिएको हो भूमादेवीले । ठगीको मुद्धा पुनरावेदन भएको छ ।’

कुमारले भने, ‘म भाडामा बसेको होइन । सहमतिमा बसेको भनेर भूमादेवीले भनेको छ । कागजले बोल्छ नि ! अदालतमा बयान गरेको छ । यो मुद्धा सीआईबी र अख्तियारमा गएको छ । अदालतले भन्यो भने मैले घर छाड्छु । अहिले त छोड्दैन ।’

उता, पीडित भूमादेवी पौडेलले तीन वर्षदेखि उत्तम कुमारले घर भाडा नदिएर घर कब्जा गरेर बसेको बताएकी छिन् । ‘दिनुपर्ने भाडाको रकम नदिने । तीन वर्षदेखिको भाडा पनि नदिने । वडाध्यक्ष र वडाको नायब सुब्बाको रोहबरमा गरेको काजगमा सबै कुरा उल्लेख छ । प्रहरीसँग मिलेर मलाई ठगी मुद्धा दर्ता गर्ने । जिल्ला अदालतबाट ठगी मुद्धामा सफाइ पाइसकेको छु’, पौडेलले भनेकी छिन् ।

‘घर खाली गर्नभन्दा उच्च अदालतमा रिट दायर गर्ने । रिट पनि खारेज भएको छ । दुई पटकनै खारेज भयो’, उनले भनेकी छिन्, ‘घर खाली गराउन खोज्दा उत्तम कुमारले नगरपालिका र प्रहरीलाई मिडियाबाजी गर्छु भनेर धम्काउने तर्साउने गर्नुभएको छ ।’

वीरगञ्जका उत्तम कुमारले दुई करोड बिगो दाबी गरेर मुद्धा हालेको मुद्धामा काठमाडौं जिल्लाबाट आफूले सफाइ पाइसकेको उनले बताएकी छिन् । पौडेलले उत्तम कुमारलाई कुनै पनि रकम दिन नरहेको दाबी गरेकी छिन् । ‘उत्तम कुमारलाई दिनुपनि छैन । लिनुपनि छैन’, पौडेलले भनेकी छिन् ।

‘मेरो पाँच तलाको घर कब्जा गरेर उत्तम कुमार बस्नुभएको छ । उहाँले घरधनीलाई गाली गर्नु हुन्छ’, पौडेलले भनेकी छिन्, ‘वडामा गरेको काजगमा कतै पनि उजुरबाजुर गर्ने छैन भनेर उत्तम कुमारले कागज गर्नुभएको छ ।’

उत्तम कुमारले बिजुलीको पैसा पनि नतिरेपछि घरधनी पौडेलले ४५ हजार बिजुलीको पैसा तिरेर लाइन काटेकी छिन् । काठमाडौं जिल्ला अदालतको फैसला, उच्च अदालत पाटनद्वारा दुई पटक रिटमा आदेश दिन अस्वीकार गरेको तथा वडा कार्यालयबाट घर खाली गर्न भएका प्रक्रियासम्बन्धी कागजपत्रहरू दैनिक नेपालसँग सुरक्षित छन् ।

प्रतिक्रिया
सम्बन्धित