काठमाडाैं, १४ माघ । नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन बनाउने विषय डेढ दशकदेखि उठे पनि लामो समयसम्म त्यसले मूर्त रूप लिन सकेन। नेपाल सक्दो छिटो पाइपलाइन बनाउन चाहन्थ्यो, भारतको नीति भने ठीक उल्टो देखिन्थ्यो। नेपालमा २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका घटनाक्रमले भारत आफैं पाइपलाइन बनाउन अगाडि सर्यो।
नाकाबन्दीका कारण नेपालमा भारतविरोधी भावना बढेको र नेपालको अर्को छिमेकी मुलुक चीनसँगको व्यापार तथा पारवहन सम्झौताजस्ता कारणले भारत पाइपलाइन परियोजना निर्माण गर्न बढी हतारियो। त्यसैको परिणाम, अहिले भारतको मोतिहारीदेखि रक्सौल हुँँदै नेपालको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बनेको छ। अहिले दैनिक हजारौं लिटर पेट्रोलियम पदार्थ यही पाइपलाइनबाट आइरहेको छ।
पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्दा दर्जनौं फाइदा देखिएपछि नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल फेरि अर्को पाइपलाइन परियोजना निर्माणमा जुटेका छन्। खासगरी पूर्वी नेपाल र त्यसमा पनि प्रदेश १ को माग समेट्ने गरी भारतको सिलगुडीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन परियोजना बनाउने योजना निगमको छ।
पौडेल माघ पहिलो साता सिलगुडीमा यसै विषयमा इन्डियन आयल कर्पोरेसन (आइओसी) का उच्च अधिकारीसँगको छलफलमा व्यस्त थिए। आइओसीका अधिकारीहरूसँग पौडेलले यो क्षेत्रमा पाइपलाइन बनाउने विषय जति सक्यो छिटो सुरु गर्न आग्रह गरे। यही माघ पहिलो साता सिलगुडीमा नेपाली सञ्चार माध्यमका प्रतिनिधिसँग पौडेलले यो परियोजनालाई उच्च महत्व दिएर अगाडि बढाएको बताए। यो परियोजना अगाडि बढाउन आइओसीका अधिकारीहरू पनि सकारात्मक भएको जानकारी दिंदै पौडेलले भने, ‘अब नेपाल र भारतबीच सम्झौता हुनुपर्छ।’
पौडेलका अनुसार निगम र आइओसीले यसको आवश्यकता महसुस गरेका छन्। अब दुवै मुलुकका सरकारले पनि आवश्यक ठाने परियोजना अगाडि बढछ। प्रबन्ध निर्देशक पौडेलले दुई मुलुकबीच पाइपलाइन निर्माण भए यसबाट दजनौं फाइदा पुग्ने जानकारी दिए। नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले समाचार लेखेका छन् ।















प्रतिक्रिया