१ कार्तिक २०८३, आइतबार

‘गल्ती सच्याएर आउनुस्’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देउखुरी, १३ माघ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन दाहाल–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी दाङको आयोजनामा सोमबार देउखुरीमा भएको विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाटो बिराएकाहरू सच्चिएर आउने आशाकै कारण आफूले अहिलेसम्म कसैलाई पनि कारबाही नगरेको स्पष्ट पारे ।

दाहाल–नेपाललाई इंगित गर्दै उनले भने, ‘तपाईंहरू आफूले गरेका गल्ती कमजोरी सच्चाएर आउनुस्, फेरि एकजुट भएर सँगै अघि बढाैं ।’ प्रधानमन्त्री ओलीले नेकपा नफुटेको र बाटो बिराएकाहरू गल्ती स्वीकार गरी फर्किने हो भने आफूहरू स्वागत गर्न तयार रहेको बताए ।

हिजोसँगै काम गरेकाहरूले पनि अहिले केपी ओली यो पृथ्वीमा नरहेहुन्थ्यो भन्ने चाहना राखेको गुनासो गर्दै उनले कसैले चाहँदैमा त्यस प्रकारको अमानवीय चाहना र सपना पूरा नहुने बताए । ओलीले आफूले शान्ति, समृद्धि, स्थायित्व र सुशासनका लागि पार्टी एकीकरण गरेको चर्चा गर्दै झगडा गरेर सडक आन्दोलनमा जान एकता नगरिएको स्पष्ट पारे ।

‘देशले अग्रगमन चाहेको छ, शान्ति चाहेको छ । जनताले आफ्नो जीवनमा परिवर्तन चाहेका छन् र उनीहरूले असल अविभावक खोजेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यही कुराका लागि हामी अघि बढ्यौं तर त्यो देख्न नचाहने र जनताका लागि राम्रो काम गरेको हेर्न नसक्नेले हाम्रा विरुद्ध गुटबन्दी गर्दै अघि बढे तर उनीहरू असफल हुने निश्चित छ ।’

आन्दोलनका नाममा निर्वाचन आयोग र अदालतलाई धम्काउनु अलोकतान्त्रिक चरित्र भएको बताउँदै प्रधानमन्त्री ओलीले सडकमा तिघ्रा बजारेर उफ्रँदैमा कसैको गलत मनसाय पूरा हुन नसक्ने बताए । आफूले संविधानमा भएको अधिकारलाई प्रयोग गरेर संसद् विघटन गरेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले तोकिएकै मिति र समयमा निर्वाचन हुनेमा ढुक्क रहन आश्वस्त पारे ।

‘२०७८ साल १७ वैशाखमा शुक्रबारका दिन पहिलो चरणको चुनाव हुन्छ । तपाईंहरू जनताको घरघरमा गएर प्रचारप्रसार गर्नुस् । पार्टीलाई जिताउने गरी लाग्नुस्,’ ओलीले भने । उनले शान्तिपूर्ण तथा भयरहित वातावरणमा र निष्पक्ष तवरले चुनाव गराउन र त्यसको तयारीमा जुट्न सुरक्षाकर्मी र कर्मचारीलाई पनि आग्रह गरे । ओपेन्द्र बस्नेतले राजधानी दैनिकमा समाचार लेखेका छन् ।