शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

निर्वाचन आयोगद्वारा नेकपाका दुवै समूहलाई वैधानिकता दिन अस्वीकार

दैनिक नेपाल २०७७ माघ ११ गते २२:१८

काठमाडौँ, ११ माघ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहको माग दावीलाई मान्यता दिन अस्वीकार गरेको छ ।

आयोगको आइतबार बसेको बैठकले दुवै पक्षको मागदावी कानुनसम्मत नभएको भन्ने निष्कर्षसहित वैधानिकता प्रदान गर्न अस्वीकार गरेको हो ।

राजनीतिक रुपमा विभाजित नेकपा आयोगको यो निर्णयसँगै कानुनी रुपमा भने विभाजित नभएको ठहरिएको छ ।

आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड माधव पक्षका दुवै समूहलाई वैधानिकता नदिने भएको छ ।

नेकपाका दुवै पक्षबाट दल विभाजको विवरण नभई ऐनको दफा ५१ अनुसार विधान परिवर्तन, पदाधिकारी हेरफेर, कारबाही गरिएको लगायतका विवरणका विषयमा आयोगलाई जानकारी दिएका थिए ।

नेकपाको दुवै पक्षबीच दलको नाम, विधान, झण्डा वा चिन्ह, दलको पदिधकारी, केन्द्रीय समिति वा निर्णयको आधिकारिकताका विषयमा विवाद छ। तर आयोगले अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाको नेतृत्वमा कायम जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपामा विभाजन देखिएको थियो । प्रचण्ड माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

ओली समूहले केन्द्रीय सदस्य थप गरेको जनाएको थियो । यसअघि निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दावी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो ।

दुवै समूहले एक अर्कालाई कारवाही गर्नेदेखि पदाधिकारी फेर्ने गरिरहेका बेला निर्वाचन आयोगले भने नेकपा नफुटेको र यसको अध्यक्षहरु प्रधानमन्त्री ओली पुष्पकमल दाहाल नै भएको निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया
सम्बन्धित