शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

जब बाकसमा आइपुगे परदेशबाट आफन्त

दैनिक नेपाल २०७७ माघ ११ गते ७:४८

काठमाडौं, ११ माघ । ‘बिहानै ड्युटी छ, दिनभर कामले थकित भएको छु, म अब सुतिहाल्छु,’ श्रीमती र ६ वर्षीया छोरीलाई यति भनेर फोन काटेका मिलन लामा तामाङ त्यसपछि सम्पर्कमा आएनन् । गत मंसिर ३० को राति उनी खाना खाँदै परिवारसँग कुराकानीमा जोडिएका थिए ।

मिलन ३१ महिनादेखि मलेसियाको जोरवारुस्थित बिस्कुट उद्योगमा कार्यरत थिए । हरेक बिहान फोन सम्पर्कमा आउने उनी पुस १ मा भने आएनन् । दिनभर मोबाइल स्विच अफ नै रह्यो । ‘बेलुका पो हामीलाई कम्पनीको सुपरभाइजरले फोन गरेर भाइले आत्महत्या गरेको खबर सुनायो,’ मिलनका दाइ सुरेन्द्रबहादुरले कान्तिपुरसँग भने, ‘त्यतिखेर हामी त छाँगाबाट खसेजस्तै भयौं ।’

मिलनका परिवारले अझै आत्महत्यालाई स्वीकार गर्न सकेको छैन । शनिबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिलनको शव बुझेर दाहसंस्कारका लागि त्रिशूली लैजान गाडीमा बसेका सुरेन्द्र भन्दै थिए, ‘आत्महत्या गर्नुको पनि कारण हुन्छ । त्यस्तो कारण परिवारबाट छैन । हाम्रो परिवारमा सबै ठीक छ । कि मलेसियामै केही हुनुपर्‍यो ।’ सुरेन्द्रका अनुसार मिलनले माघमा नेपाल आउने बताएका थिए । घटनाबारे थप अनुसन्धानका लागि कम्पनीलाई आग्रह गरे पनि सुनुवाइ नभएको सुरेन्द्रले गुनासो गरे । ‘हुन त हाम्रो मान्छे फेरि जिउँदो भएर आउने होइन । तैपनि भाइको ज्यान किन र के कारणले गयो भन्ने त थाहा पाउन पाए हुन्थ्यो,’ उनले भने ।

शनिबार मिलनसँगै १८ जनाको शव र एक जनाको अस्तु नेपाल ल्याइएको छ । विमानस्थलको कार्गो कार्यालयमा शव बुझ्न आउने मृतकका आफन्त, परिवार र साथीभाइहरू मृत्युको कारणबारे एकअर्कालाई सोधखोज गरिरहेका थिए ।

जसमध्ये धेरैजना आफ्नो मान्छेको मृत्यु कसरी भयो भन्नेमा जानकार नै थिएनन् भने केहीले प्राकृतिक मृत्यु भएको भन्नेमा शंका गरिरहेका थिए । हाेम कार्कीले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित