शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रचण्डलाई कमल थापाको प्रश्न– दुई पटक प्रधानमन्त्री भइसकेकाको भाषाशैली किन निच ?

दैनिक नेपाल २०७७ माघ १० गते १७:१५

काठमाडौं, १० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले शुक्रबारको आमसभामा ‘निचपूर्ण’ भाषाशैलीको प्रयोग गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेका छन् ।

नयाँ निर्वाचन घोषणाविरुद्ध आन्दोलित बनेको प्रचण्ड–माधव समूहले हिजो शुक्रबार राजधानीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रको नामलाई अमर्यादित र रुपमा प्रस्तुत गरेको भन्दै कमल थापाले दुई/दुई पटक प्रधानमन्त्री भइसकेको व्यक्तिको भाषाशैली किन निच ? भनेर प्रचण्डलाई प्रश्न सोधेका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले प्रचण्डको यो प्रस्तुती र शैलीलाई हतास र विचलित मानसिकता भनेर चित्रण गरेका छन् । प्रचण्डको उक्त तल्लोस्तरको प्रस्तुति र व्यवहारको थापाले निन्दा गरेका छन् ।

‘हिजोको सभामा दुईपटक प्रम भएका प्रचण्डले पुर्वराष्ट्रप्रमुख, लाखौं जनताको आस्था र बिश्वासको धरोहर र एक सम्मानित नागरिक राजा ज्ञानेन्द्रको नामलाई जुन अमर्यादित रूपमा प्रस्तुत गर्नुभयो, त्यसले प्रचण्डको हतास/विचलित मानसिकतालाई प्रदर्शित गरेको छ । प्रचण्डको निचतापूर्ण व्यवहारको निन्दा गर्दछु’, थापाले ट्विटरमा लेखेका छन् ।

शुक्रबार राजधानीमा भएको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई ‘ज्ञाने’ उच्चारण गरेका थिए । प्रधानमन्त्री केपी ओलीको पक्षमा राजावादीहरुमात्रै रहेको भन्दै प्रचण्डले भनेका थिए, ‘उनको (केपी ओली) पक्षमा लाग्नेहरुको अनुहार देख्नुभएको छ नि तपाईंहरुले ! उनको पछि लाग्ने भनेको हिजो ‘ज्ञाने’का पछि लाग्ने को–को थिए तिनै दोडिएका छन् अहिले ।’

सोही सन्दर्भमा प्रचण्डले केपी ओलीतिर लाग्ने पूर्वमाओवादीका नेताहरुलाई खरानी घसेर चिन्ने नसक्ने भएको समेत आरोप लगाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित