बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

विवादमा ‘ताण्डव’, सुरक्षा बढाइयो

दैनिक नेपाल २०७७ माघ १० गते ११:४४

मुम्बई । बलिउड फिल्म ‘ताण्डव’ विवादमा तानिएको छ । निर्देशक अली अब्बासको यो सिरिजले हिन्दु देवी–देवताको अपमान गरेको भन्दै सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)का सांसद, कार्यकर्ता र हिन्दु धार्मिक संघ, संगठन कडा विरोधमा उत्रिएका हुन् । भगवान राम, नारद र शिवलाई अपमानजनक हिसाबमा प्रस्तुत गरिएको आरोप छ ।

अमर उजालाका अनुसार सामाजिक सञ्जालमासमेत ‘ताण्डव’ प्रदर्शनमा रोक लगाइनुपर्ने मत राख्नेहरू बढिरहेका छन् । सामाजिक सञ्जालमा ‘ह्यासट्याग बोइकट तान्डव’ अभियान नै चलेको छ । गत शुक्रबार सार्वजनिक ‘ताण्डव’ प्रदर्शनमा रोक लगाउन र सिरिजका निर्देशक अली अब्बास जफर, निर्माता हिमान्सु कृष्ण मेहेरा, लेखक गौरव सोलान्की र कलामारहरूमाथि कडा कारवाही गर्नुपर्ने माग राख्दै बिजेपी विधायक राम कदमले मुम्बईको घाटकोपर प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेका छन् । उनीहरूसँगै अमेजन प्राइम इन्डियाका कन्टेन्ट प्रमुख अपर्ना पुरोहितविरूद्ध एफआइआर दर्ता भएको छ ।

बिजेपीका सांसद मनोज कोटकले समेत केन्द्रीय सूचना तथा प्रसारणमन्त्री प्रकाश जावडेकरलाई पत्र लेखेर उक्त वेब सिरिजमा प्रतिबन्ध लगाउन माग राखेका छन् । निर्माताले जानीजानी हिन्दु देवताहरूको मजाक उडाएर धार्मिक भावनामाथि चोट पु¥याएको उनले दाबी गरेका छन् ।

‘ओटीटी प्लेटफहरू सेन्सरशिपमुक्त भएको कारण पटक–पटक हिन्दु धर्मावलम्बीको भावनामा हमला भइरहेको छ । यसको म कडा निन्दा गर्छु’, सांसद मनोजले केन्द्रीय मन्त्री प्रकाशलाई ट्विटरमा ट्याग गर्दै भनेका छन्, ‘म अनुरोध गर्छु कि ओटिटी प्लेटफर्म भारतको अखण्डताको हितको लागि विनियमित गरिओस् ।’

एएनआईको रिपोर्ट अनुसार बिजेपीका नेता कपिल मिश्रले पनि अमेजन प्राइम भिडिओलाई पत्रचार गरेका छन् । जसमा वेभ सिरज ‘ताण्डव’ तुरुन्तै अमेजनबाट हटाउन भनिएको छ ।

सोमबार विधायक राम कदमको अगुवाईमा मुम्बईमा ‘ताण्डव’ र प्रदर्शक अमेजनविरुद्ध प्रदर्शन गरेका छन् । उनले अमेजनलाई बहिष्कार गर्न अपिल समेत गरेका छन् । भनेका छन्, ‘वेभ सिरिजका अभिनेता, निर्देशक र निर्माताविरूद्ध कडाभन्दा कडा कार्वाही हुनुप¥यो ।’ राम कदमले अमेजनविरुद्ध ‘जुते मारो’ आन्दोलन गरिने चेतावनी दिएका छन् ।

सिरिजमा सैफ अली खान, अयूब जिशान, तिग्मांशु धुलिया, डिम्पल कपाडियालगायत कलाकारको मुख्य भूमिका छ । पछिल्लो विवादले ‘ताण्डव’का मुख्य कलाकार सैफ अली खानमाथि आक्रमण हुनसक्ने सम्भावनालाई ध्यानमा राखी मुम्बई प्रहरीले उनको पनि सुरक्षा बढाएका छन् । हाल बान्द्रास्थित सैफको निवासमै हमला हुने खतरालाई ध्यानमा राख्दै उनको घरबाहिर प्रहरी परिचालन गरिएको भारतीय अखबार अमर उजालाले लेखेको छ ।

भारतमा नेटफिल्क्स, अमेजन प्राइम भिडिओ, डिज्नी प्लस हटस्टार जस्ता औटिटी प्लेटफर्मले राम्रो बजार लिइरहेको छ । भारतीय सरकारले सूचना तथा प्रशारण मन्त्रालयको मातहतमा रही यी प्लेटफर्म सञ्चालन गर्न नीति एवम् नियमहरू सार्वजनिक गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित