शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

युरोपमा कोभिड खोपको अभाव, कयौँ स्थानमा खोप कार्यक्रम स्थगित

दैनिक नेपाल २०७७ माघ १० गते १०:१७

लण्डन, १० माघ । कोरोनाभाइरस विरुद्धको खोप विकास गरिरहेको अर्को एउटा कम्पनीले वितरणमा समस्या हुन सक्ने बताएसँगै युरोपेली संघ निराश बनेको छ ।

यूकेको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने बीबीसीले जनाएको छ ।

युरोपका कयौँ भागमा फाइजररबायोएनटेकले वाचा गरे अनुरूपको आपूर्ति नगरेपछि कोभिडको खोप दिने काम सारिएको वा रोकिएको बताइएको छ ।

अक्सफर्ड विश्वविद्यालयसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाले एक विज्ञप्ति जारी गर्दै पछिल्लो अवस्थाबारे जानकारी गराएको हो ।

यो खोपलाई हालसम्म संघको नियामक निकायले प्रयोगका लागि स्वीकृत गरिसकेको छैन । यसै महिनाको अन्त्यसम्ममा खोपलाई स्वीकृत दिन सकिने बुझिएको छ ।

कयौँ युरोपेली देशमा सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेका बेला अमेरिकी औषधि उत्पादक कम्पनीले अस्थायी रूपमा आपूर्ति घटाउँदा खोप वितरण प्रभावित भएको छ ।

जर्मनीको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य र इटलीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ । म्यड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिने समेत बन्द गरिएको छ ।

गत साता फाइजरले आउँदा केही साताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो । बेल्जियममा एउटा कारखानाको क्षमता विस्तारको काम भएकाले ढिलो हुने फाइजरले बताएको थियो ।

ईयूले फाइजरबाट मात्र ६० करोड डोज खोप मगाएको छ। उसले अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोपलाई समेत स्वीकृति दिएको छ । ढिलासुस्तीलाई लिएर हङ्गेरीका दक्षिणपन्थी प्रधानमन्त्री भिक्टोर अर्बानले ईयूले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित