बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

साँचो अर्थमा देशभक्त हुनुपर्छ, हामी आत्मा बेच्ने होइनौँ: प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ माघ ८ गते १५:१७

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैमा देशभक्ति हुनुपर्ने बताएका छन् ।

बिहीबार प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले पहिलो कुरा सबै नेपाली साँचो अर्थमा देशभक्ति हुनुपर्ने बताएका छन् । देशभक्ति नभएकाहरु नेपाली होइनन् । नागरिकतामा हुन्छन् तर साँचो अर्थमा नागरिक होइनन् उनले भने ।

प्रधानमन्त्री ओलीले सम्पूर्ण पत्रकारहरुलाई सर्वप्रथम देशभक्ति हुन आग्रह गरेका छन् । उनले नेपाली संस्कार तथा भाषा प्रयोगको कुरा उल्लेख गर्दै आफ्नै भाषा शैलीलाई अनुसरण गर्न पनि आग्रह गरेका छन् ।

‘नागरिकता वा प्रमाणपत्रमा त होला तर मन र भावनामा देशभक्ति छैन भने त्यो के नेपाली ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।

‘त्यसकारण हामी नेपाली हुनुपर्दछ, नेपाली भएर जिउनुपर्दछ । नेपालका लागि काम गर्नुपर्दछ । हामी विकाउ वस्तु होइन, काम गरेको मुल्य लिन्छौँ तर आत्मा बेच्दैनौँ’, उनले सम्बोधनका क्रममा प्रचण्ड माधव नेपाललाई संकेत गर्दै भने, ‘नक्कली देशभक्त होइन ।’

ओलीले थपे, ‘मैले अस्ति एउटा टेलिभिजनलाई अन्तरवार्ता दिएँ । आलोचना गर्ने ठाउँ कहीँ भेटिएनछ । अनि त्यो पत्रकारले इण्डियामा गएर यो एभरेष्टका नाममा किन राखेको ? भनेर के बोलेछ त्यसपछि यहाँ राष्ट्रवादको बबण्डर मच्चियो । उसले सगरमाथा खान्छु भनेको छर ?’ ओलीको प्रश्न थियो ।

‘यति साह्रो बहकिन आवश्यक छैन । वाहियातमा बहकिएर ? राष्ट्रवाद तमासा गर्ने कुरा हो ? राष्ट्रवाद ड्रामा हो ?’, प्रश्न गर्दै ओलीले राष्ट्रको हित र स्वभिमानको पक्षमा उभिने कुरा साँचो राष्ट्रवाद भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित