शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

अमेरिकामा ट्रम्पका महत्वपूर्ण नीतिहरू उल्ट्याएर बाइडेनद्वारा काम शुरु

दैनिक नेपाल २०७७ माघ ८ गते ११:३२

न्युयोर्क, ८ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्प प्रशासनका केही महत्वपूर्ण नीतिलाई उल्ट्याएर काम शुरु गरेका छन् ।

शपथ ग्रहण गरेको केही घण्टापछि नै बाइडेनले १५ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर कामको थालनी गरेका हुन् ।

गम्भीर चुनौतिहरु रहेकाले खेर फाल्ने समय नरहेको राष्ट्रपति बाइडेनले बताएका छन् । उनले शपथपछिको सम्बोधनमा आफू सबै अमेरिकीका लागि काम गर्ने र सबैको राष्ट्रपति बन्ने बताए । उनले फरक मतहरुलाई राखेर एकअर्कालाई सुन्ने तथा मिलेर काम गर्नु पर्ने बताए ।

राष्ट्रपति बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राष्ट्रिय प्रयासलाई लिएर कार्यकारी आदेश जारी गरेका हुन् ।

यस्तै विश्व स्वास्थ्य संगठनमा अमेरिकालाई पुनः फर्काउने, पेरिस जलवायु सम्झौतामा पुनः सामेल हुने, आप्रवासी नीति सम्बन्धी कार्यकारी आदेशमा बाइडेनले पहिलो दिनमा हस्ताक्षर गरेका छन् ।

मुस्लिम देशमाथि ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्ध हटाउने, मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माण भइरहेको पर्खाल निर्माण रोक्नेसहितका आदेशमा बाइडेनले हस्ताक्षर गरेका हुन् ।

स्थानीय समय अनुसार बुधबार मध्याहन्नदेखि बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका हुन् । त्यसअघि बाइडेनले राष्ट्रपति तथा कमला ह्यारिसले उपराष्ट्रपतिको शपथ लिएका थिए । ह्यारिस अमेरिकाको इतिहासमा उपराष्ट्रपति बन्ने पहिलो महिला, पहिलो अश्वेत महिला हुन् ।

समारोहमा ट्रम्प सहभागी भएनन् । तर उनले बाइडेनका लागि नोट छोडेको ह्वाइट हाउस प्रवक्ता जेन साकीले बताएकी छन् । सो नोटमा रहेको विवरण भने सार्वजनिक गरिएको छैन ।

बाइडेनले जारी गरेको कार्यकारी आदेशमा संघीय सरकारका भवन तथा कार्यालयहरुमा मास्क लगाउन अनिर्वाय गरिएको छ । यस्तै उनले १०० दिनका लागि मास्क च्यालेन्जको घोषणा गरेका छन् ।

जलवायु परिवर्तनलाई लिएर सन् २०१५ को पेरिस सम्झौतामा सामेल हुने घोषणासँगै बाइडेनले विवादास्पदकिस्टोन एक्सएल पाइपलाइन रद्द गर्ने आदेश पनि दिएका छन् ।

यसैबिच माथिल्लो सदन सिनेटले नेशनल इन्टेलिजेन्स प्रमुखका लागि बाइडेनले प्रस्तावित गरेकी एभ्रिल हाइनेसको नाम अनुमोदन गरेको छ । उनी एजेन्सीको नेतृत्व गर्ने पहिलो महिला बनेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित