शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेकपा विवादः हकदाबीमा होडबाजी

दैनिक नेपाल २०७७ माघ ७ गते ८:०३

काठमाडाैं, ७ माघ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि पार्टीको असली हकदार दावी गर्ने होडबाजी चलेको छ । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल–दाहाल समूह र ओली समूहमा विभाजित भएपछि नेकपाको असली हकदार दुवै पक्षले आफूहरू भएको दाबी गर्दै आएका छन् । दिनहुँजस्तो दुवै पक्षले आफूनिकट नेता तथा कार्यकर्ताको भेला गर्दै नेकपाको आधिकारिक पक्ष आफैं भएको जिकिर गर्दै आएका छन् ।

पुस ७ गतेपछि दुवै समूहले आफूनिकट नेता–कार्यकर्ता जम्मा पारेर गरेका बैठक, भेला, आमसभा र विभिन्न कार्यक्रममा नेकपाको संस्थापन आफूहरू नै भएको दाबी गर्दै आएका छन् । केपी शर्मा ओलीले पार्टीको प्रथम अध्यक्ष, महासचिव र माइन्युट आफूसँग भएको र पूर्वएमालेतर्फ रहेका कार्यकर्ताको ठूलो पंक्ति आफूसँग रहेको भन्दै संस्थापन पक्ष आफूहरू भएको दाबी गरेका छन् । नेपाल–दाहाल समूहले पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी तथा सबै कमिटीमा आफूहरूको बहुमत रहेको भन्दै आफूहरू नै संस्थापन पक्ष भएको दाबी गरेका छन् । यो क्रम एक महिनादेखि नै चलिरहेको छ । ओलीले ‘असली बाजेको पेडा पसल’को संज्ञा दिएर आफू संस्थापन भइरहेको बताउँदा नेपाल–दाहाल समूहले पनि त्यसको खण्डन गर्दै असली आफूहरू नै भएको दाबी गर्दै आएका छन् ।

नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले सो समूहनिकट पत्रकारहरूको भेलामा मंगलबार ओलीले संस्थापन पक्ष भएको भ्रम छरिरहेको बताउँदै पूर्वएमालेमा आफू संस्थापन रहेको, ओलीचाहिँ कुनै एउटा गुटको मात्र नेता भएको बताए । प्रधानमन्त्री ओलीले ‘असली बाजेको पेडा पसल’ आफूतिर रहेको भन्दै आएको अभिव्यक्ति लक्षित गर्दै अध्यक्ष नेपालले अहङ्कार र दम्भले उनी एक्लिएको र भ्रम छरिरहेको बताए । उनले प्रधानमन्त्री ओली गणतन्त्र र संघीयताविरोधी भएको आरोप लगाएका छन् । केपी ओली प्रतिगमनका प्रतीक हुन् । उनको एकलवाद, अहङ्कार, दम्भ र संवैधानिक कदमविरुद्ध सिंगो देश आन्दोलित छ, ओली अहिले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेका छन् तर असली एमाले माधव नेपाल हो,’ अध्यक्ष नेपालले भने ।

उनले ‘माधव नेपाल प्रचण्डको कार्यकर्ता बन्न गए’ भन्ने ओलीको भनाइलाई प्रतिवाद गरे । ‘ओरिजिनल एमाले माधव नेपाल हो, केपी ओली होइन । तर अब एमाले र माओवादी कोही छैन, सबै एक भइसकेको छ, नेकपा भइसकेको छ,’ उनले भने । उनले संसद् विघटन भइसकेपछि प्रधानमन्त्री शर्मा ओलीको हैसियत के हो ? भनेर प्रश्न पनि गरे । ‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि उहाँको हैसियत के ? हामीले त यो संसद् विघटन मानेकै छैनौं,’ अध्यक्ष नेपालले भने । उनले ओलीलाई कि कामचलाउ प्रधानमन्त्री भन्न, कि कुर्सी छोड्न चेतावनी पनि दिए । ‘कि काम चलाउ भन्नुस् कि तत्काल कुर्सी छोड्नुस्, तर उहाँ छोड्नुहुन्न । भर्‍याङ बनाउनुहुन्छ । पार्टी, म र प्रचण्डलाई पनि भर्‍याङ बनाउनुभयो,’ अध्यक्ष नेपालले भने । उनले केपी ओलीमा चरम व्यक्तिवाद रहेको टिप्पणीसमेत गरे । ‘सानो कोटरीमा रमाउनु हुन्छ । यहि गुटवादी र अलोकतान्त्रिक संस्कारकाविरुद्ध आन्दोलन गरिरहेका छौं । ओली पद छाड्न चाहँदैनन्, भ्रमको खेती गर्न खप्पिस छन् । एक दिनमा तीनजनालाई तीन पद दिन्छन्,’ अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले संघीयता र परिवर्तन संकटमा भएका बेला सही र गलत छुट्याउन सक्नुपर्नेमा पनि जोड दिए । सत्यको पक्षमा उभिने नै असली नेता हो भन्दै उनले परिवर्तनको रक्षा गर्नु साझा दायित्व बनेको बताए । उनले अहिले ओलीका ‘साइबर सेना’ सक्रिय रहेको सुनेको भन्दै तिनीहरूले केही गर्न नसक्ने बताए । ‘अरिगांलको गोला र झुसिल किराहरूले केही गर्न सक्दैनन् । सत्य र न्याय हाम्रो पक्षमा छ,’ उनले भने । उनले गणतन्त्रको पक्षमा पार्टीले फैसला गर्ने वा निर्णय गर्ने बेलामा ओलीले मात्रै फरक मत राखेको दाबी गर्दै उनले भने, ‘सबै जना एकापट्टि भएर गणतन्त्रको पक्षमा निर्णय गरियो, ओलीले मात्रै फरक मत राखे ।’ टपेन्द्र कार्कीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित