
काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै पनि किसिमको हिंसाको पक्षमा नरहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा भएको नुवाकोटका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि व्यंग गर्दै यस्तो बताएका हुन् । ओलीले प्रचण्डले लाठी खान मन छ भन्ने अभिव्यक्तिले युवालाई भड्काएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डले टाउको फुटाउन मन छ भनेछन्, हामी कसैको टाउको फुटाउन चहान्नौं, हिंसामा विश्वास गर्दैनौँ ।’
त्यस्तै, ओलीले पार्टीका सबै कमिटीहरुको पुनः गठन गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरेका उनले भने, ‘प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन म आग्रह गर्दछु ।’
प्रधानमन्त्री ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन पनि गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको दाबी गरे ।















प्रतिक्रिया