बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

ओलीतिर लचक देउवाले कुरा मिलाए

दैनिक नेपाल २०७७ माघ ६ गते १०:१५

काठमाडौं, ६ माघ । प्रधानमन्त्री केपी ओलीतिर झुकाव राखेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहतिर लचक बनेपछि कांग्रेसभित्रको समीकरणमा उथलपुथल भएको छ ।

पार्टीभित्रको उथलपुथललाई साम्य पार्न सभापति देउवाले आन्तरिक परामर्श र भेटघाटहरूलाई तीब्र बनाएका छन् । देउवाले सोमबारमात्रै नेता पौडेललाई भेटेका छन् । पौडेलको निवास बोहराटार पुगेर देउवाले मिलेर जान प्रस्ताव गरेका छन् ।

अरु नेताहरूको घरमा बिरलै जाने देउवाले पार्टीका लागि मिलेर जान पौडेलसँग प्रस्ताव गरेका हुन् । पौडेलले पनि आफूलाई केही नरम बनाएका छन् । उनले लोकतन्त्रको रक्षाका विषयमा आफू सधै तयार रहेको जवाफ देउवालाई दिएका छन् ।

देउवाले पनि आफू लोकतन्त्र र संविधानका लागि सबै काम गरिरहेको बताएको एक नेताले जनाएका छन् । देउवाले पौडेलसँग पार्टीभित्र हुने निर्णयअनुसार अगाडि बढ्न आग्रह गरेका छन् । पौडेलले स्पष्ट केही भनेका छैनन् । तर, पौडेलले पार्टीभित्रका कुराहरू मिलाउन देउवालाई दवाव सिर्जना गरेका छन् ।

यसअघि सभापति देउवाले महामन्त्री डा.शशांक कोइरालासँग पनि पटक–पटक भेट गरिसकेका छन् । भेटमा पार्टीलाई निर्वाचनमा एकताबद्ध बनाएर लैजाने विषयमा कुराकानी भएको नेताहरूको भनाइ छ । डा.कोइराला पनि चुनावमा पार्टीलाई लगेर सबैभन्दा ठूलो दल बनाउने पक्षमा छन् ।

प्रचण्ड–माधव समूहले पौडेललाई राष्ट्रपतिको लोभ देखाएपछि कांग्रेसभित्र केही असहज परिस्थिति सिजर्ना भएको थियो । त्यो स्थिति सिर्जना हुन नदिन देउवाले नेताहरूलाई भेटेर कुरा बुझाउने प्रयासहरू गरेका छन् ।

सभापति देउवाले ओलीसँग मिलेर निर्वाचन गर्ने पक्षमा छन् । अहिलेको अवस्थामा निर्वाचनमा जाँदा कांग्रेसलाई फाइदा हुन्छ । त्यसका साथै चुनावी सरकारको नेतृत्व लिने सम्भावना छ ।

देउवाले नेकपाका नेताहरूले आफूलाई सहयोग गर्न आग्रह गर्दा नेकपा कानूनी रुपमा नफुटेकाले आफूले सहयोग गर्न नसक्ने जनाउँदै आएका छन् । देउवाको रणनीतिलाई पौडेल समूहले राम्रोसँग नुबझेकै कारण कांग्रेसभित्र समस्या भएका एक नेताले बताए ।

प्रतिक्रिया
सम्बन्धित