शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

खोपको लाइन नमिच्न डब्लुएचओको धनी देशहरूलाई आग्रह

दैनिक नेपाल २०७७ माघ ६ गते ७:५२

लण्डन, ६ माघ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड–१९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गरेका छन् ।

टेड्रोस एडहानोम गेहब्रेयससले ुमलाई पहिलाु भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने बताए । त्यसो गर्दा खोपको भाउ र जम्माखोरी बढ्ने उनले चेतावनी दिएको बीबीसीले जनाएको छ ।

डब्लुएचओका महानिर्देशकले असमान खोप वितरणका कारण संसार चरम नैतिक सङ्कटको सम्मुख भएको भन्दै अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशको पूर्ण प्रतिबद्धता हुनुपर्ने बताए । कोभ्याक्सअन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति थालिने बताइएको छ ।

उनले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ्य मानिसहरूले खोप लगाउनु अनुचित भएको पनि बताएका छन् ।

सोमवार डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै उनले भने, ‘मैले केही खरो बोल्नु पर्ने भएको छ, विश्व नैतिक विफलताको डिलमा पुगेको छ । अनि यसको मूल्य विश्वका गरिब देशहरूका मानिसहरूले आफ्नो जीवन र जीविकाले तिर्नुपर्नेछ ।’

आफूलाई मात्र खोपको जोहो गर्ने शैलीप्रति सङ्केत गर्दै उनले भने, ‘अन्ततः यस्ता कार्यले केवल महामारीलाई लम्ब्याइदिनेछ । अनि त्यसका साथै महामारीका लागि आवश्यक निषेध अनि मानवीय र आर्थिक पीडा लम्बिनेछ ।’

संसारका ४९ धनी देशहरूले ३ करोड ९० लाख मात्राको खोप लगाइसकेको तर न्यून आय भएको एउटा देशमा जम्मा २५ मात्राको खोप पुगेको उनले बताए ।

हालसम्म भारत, चीन, रुस, अमेरिका, यूके अनि केही बहुराष्ट्रिय टोलीले खोप विकास गरेका छन् । सबैले आफ्नै जनसङ्ख्यालाई खोप लगाउन प्राथमिकता दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित