१ कार्तिक २०८३, आइतबार

नेकपा विभाजन: तानातानमा कार्यकर्ता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि ओली समूह र नेपाल–दाहाल समूह एकअर्काका नेताकार्यकर्ता तान्ने रणनीतिमा लागेका छन्। पार्टी विभाजनपछि अलमलमा परेका नेताकार्यकर्तालाई केपी शर्मा ओली र माधवकुमार नेपाल–पुष्पकमल दाहाल समूहले आआफ्नो पक्षमा ल्याउन केन्द्रदेखि नै बल प्रयोग गरिरहेका छन्। ओली पक्षले नेताकार्यकर्तालाई आफूतिर तान्न केन्द्रीय सदस्य बनाउनेसम्मको प्रलोभन दिएको छ। नेपाल–दाहाल समूहले पनि उचित जिम्मेवारी दिने र भरसक नेताकार्यकर्तालाई ओलीतिर जान नदिने रणनीति लिएको छ।

तानातानको होड चलिरहेकै बेला ओली समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका पाँच सांसदलाई आफ्नो पक्षमा ल्याएको छ। जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, कला घले र वसन्तीदेवी यादवलाई ओली समूहले आफूतिर ल्याएको छ। ओली समूहमा फर्किएका उनीहरूले आफ्नै पार्टी नेकपाको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु उपयुक्त नभएको भन्दै हस्ताक्षर फिर्ता लिएको जनाएका छन्। यसैबीच सोमबार सोलुखुम्बू पुगेर गृहमन्त्री रामबहादुुर थापाले पूर्वमाओवादी समूहका नेताहरू महेश किराँती, शिशिर राई र श्याम क्षेत्रीलाई ओली समूहमा प्रवेश गराएका छन्। ओली समूहको ध्यान अहिले युवा कार्यकर्तालाई आफ्नो पकडमा ल्याएर नेतृत्व दिनेतिर छ। रामेछापका पुराना तथा लोकप्रिय नेताहरू नेपाल–दाहाल समूहमा लागेपछि ओली समूहले युवा पुस्ताका दुई नेता आनन्द श्रेष्ठ र पुरुषोत्तम कडरियालाई जिम्मेवारी दिएको छ। कडरिया तत्कालीन एमालेमा नेपाल समूहमा थिए।

दाहाल–नेपाल समूहले विगतमा जिम्मेवारी नपाएका नेताकार्यकर्तालाई जिम्मेवारी दिएर ओली खेमामा जानबाट रोक्ने रणनीति लिएको छ। ओली समूहले लुम्बिनी प्रदेशबाट भगवतीदेवी भण्डारी, वृहस्पति अधिकारी, तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीलगायतलाई केन्द्रीय सदस्य बनाएको थियो तर उनीहरू अहिले नेपाल–दाहाल समूहमा लागेका छन्। त्यस्तै प्रदेश २ का नेताहरू सुन्दर विश्वकर्मा र कमलेश झा पनि ओली समूहबाट नेपाल–दाहाल समूहमा लागेका छन्। हुम्लाका सांसद छक्कबहादुर लामा पनि ओली समूह छाडेर नेपाल–दाहाल समूहमा पुगेका छन्। अछामका भैरे कामी र यज्ञ बोगटी, पाल्पाकी देवी बस्याल पनि ओली समूह त्यागेर नेपाल–दाहाल समूहमा लागेका छन्। खोटाङका राम दंगाल भने नेपाल–दाहाल समूह छाडेर ओली समूहमा गएर जिल्ला कमिटीको अध्यक्ष भएका छन्।

नेपाल–दाहाल समूहमा धेरै नेताकार्यकर्ता गएपछि ओली समूहले गृहमन्त्री थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा लामा र पूर्वमाओवादीबाट केन्द्रीय सदस्य भएका नेताहरूको सहयोगमा पूर्वमाओवादी र पूर्वलडाकुलाई आफ्नो पक्षमा तान्ने कोसिस गरिरहेको छ। ओली समूहले पूर्वमाओवादीका नेताकार्यकर्तालाई पार्टीको जिम्मेवारी दिने रणनीति बनाएको छ। ओली पक्षले पूर्वएमाले नेताकार्यकर्ता समेट्न हरेक कमिटीमा छुट्टाछुट्टै समिति बनाएको छ। टपेन्द्र कार्कीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।