बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

प्रधानमन्त्री कप क्रिकेटमा वाग्मती र आर्मी विजयी

दैनिक नेपाल २०७७ माघ ४ गते २०:५६

काठमाडौँ, ४ माघ । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् ।

वाग्मतीले नेपाल पुलिस क्लबलाई सात विकेटले तथा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पुलिसले २९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १११ रन बनायो । जितका लागि ११२ रनको सामान्य लक्ष्य वाग्मतीले ३४ दशमलव चार ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।

वाग्मतीका लागि उपकप्तान पृथु बास्कोटाले अविजित ४८ रन बनाउनुभयो । यस्तै इशान पाण्डेले अविजित १७, आदिल खानले १२ तथा पारस खड्काले १७ रन बनाए । बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले एक एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा पुलिसका लागि सुनिल धमलाले १७, आरिफ शेखले २१ र दीपेन्द्रसिंह ऐरीले २१ रन बनाउनुभयो । बलिङतर्फ वाग्मतीका नन्दन यादव र तिलकराज भण्डारीले चार चार तथा रामनरेश गिरीले दुई विकेट लिए ।

यसैगरी मूलपानी क्रिकेट मैदानमा आजै सम्पन्न खेलमा आर्मीले लगातार दोस्रो जित निकालेको छ । आर्मीले कर्णालीलाई ८० रनले हरायो । जितका लागि १९६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले ३३ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनायो ।

कर्णालीका कप्तान रविन्द्रजङ्ग शाहीले सर्वाधिक ३०, हेमन्त ओलीले १६ तथा दीनेश अधिकारीले १२ रन बनाउनुभयो । बलिङतर्फ आर्मीका लागि सुशन भारीले चार, साहब आलमले तीन, रोहित पौडेलले दुई तथा हरि चौहानले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै आर्मीले ४३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको थियो ।

आर्मीका लागि अनिल मण्डलले ११४ बलमा १४ चौकासहित ८९ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले ५५ बलमा तीन चौका र एक छक्कासहित ४१, रोहित पौडेलले ११, लोकेश बमले १३ र राजेश पुलामीले १६ रन बनाए ।

बलिङतर्फ कर्णालीका दिवान पुन, राज शाह र दिनेश अधिकारीले दुई दुई तथा रविन्द्रजङ्ग शाही, अनुज चुनरा र युनिस सिंहले एक एक विकेट लिए । –रासस

प्रतिक्रिया
सम्बन्धित