बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

भारतमा पहिलो दिन नै करिब २ लाख जनालाई कोरोना खोप दिइयो, ५२ जनामा देखियो साइडइफेक्ट

दैनिक नेपाल २०७७ माघ ४ गते ११:३२

काठमाडौं, ४ माघ । भारतका एक सरसफाइ कर्मचारीलाई दिएर सुरु गरिएको संसारकै सबैभन्दा ठूलो खोप अभियानको पहिलो दिन भारतमा १ लाख ९१ हजारभन्दा बढी व्यक्तिलाई कोरोना भाइरसको खोप दिइएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्सिन र कोभिशील्ड दुवै खोप दिइएको पहिलो दिन ३ हजार ३५१ खोप केन्द्र सञ्चालन गरेर उक्त संख्याका मानिसलाई खोप दिलाइएको हो ।

खोपपछि कसैलाई पनि अस्पताल भर्ना गर्न नपरेको दाबी भारतीय स्वास्थ्य मन्त्रालयले गरेको भए पनि खोप पाएका ५२ जनाको स्वास्थ्यवस्था भने बिग्रिएको समाचार स्थानीय सञ्चारमाध्यमहरुले सम्प्रेषण गरेका छन् ।

त्यसो त मन्त्रालयले पनि नयाँ दिल्लीका केही व्यक्तिमा एलर्जीको लक्षण देखिएको स्वीकार गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले एक अर्ब २० करोड भारतीयलाई खोप दिने लक्ष्य राखिएको कार्यक्रमको प्रशंसा गरेका छन् ।

भारतमा पहिलो चरणमा लगभग १ करोड स्वास्थ्यकर्मीलाई खोप लगाइने छ । त्यसपछि प्रहरी, सेना, नगरपालिका र अन्य स्थानका अग्र मोर्चामा खटिएका कर्मचारीको पालो आउने छ ।

त्यसपछि ५० वर्षभन्दा माथिका र अन्य रोग भएका ५० वर्षभन्दा मुनिका व्यक्तिहरूलाई खोप दिइने छ । मतदाता नामावलीलाई आधार बनाएर खोप दिन थालिएको बताइएको छ । भारतको सरकारले अगस्तको मध्यसम्ममा ३० करोडलाई खोप दिने लक्ष्य लिएको छ ।

खोप लगाएका ५२ जनाको स्वास्थ्यवस्था थप बिग्रियो

यसैबीच भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको अवस्था गम्भीर छ ।

भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएको थियो । पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मीलाई कोरोना खोप दिइएको थियो । दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको थियो । राजधानी नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । तीमध्ये ४ हजार ३१९ जना कर्मचारी दिए । तर ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको थियो ।

पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा पनि कोरोना खोप लगाएपछि साइडइफेक्ट देखिएको थियो । स्वास्थ्य विभागका अनुसार पश्चिम बंगालमा करिब १५ हजार ७०७ स्वास्थ्यकर्मीलाई खोप दिइएको थियो ।

तीमध्ये एक जनाको स्वास्थ्य बढी खराब भएको थियो । उनलाई उपचार गर्न एक मेडिकल कलेजमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित