शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

उपेन्द्र यादवले प्रधानमन्त्रीविरुद्ध गरेको कार्यक्रम पार्टी नेताबाटै बहिस्कार

दैनिक नेपाल २०७७ माघ ४ गते १०:२४

काठमाडौं, ४ माघ । अध्यक्ष उपेन्द्र यादवका कारण जनता समाजवादी पार्टी नेपाल (जसपा)मा भाँडभैला मच्चिएको छ ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध सिरहामा गरिएको कार्यक्रमनै खल्लो बनेको छ । शनिबार उपेन्द्र समर्थक नेताहरूले मात्रै सिरहामा कार्यक्रम गरेका छन् ।

मर्यादाको विषयमा विवाद भएपछि जसपाका वरिष्ठ नेता राजकिशोर यादवले कार्यक्रमनै बहिस्कार गरेका छन् ।

राजकिशोरलाई वरीयतामा जुनियर नेताहरूभन्दा तल राखेपछि कर्यक्रम बहिस्कार गरेका हुन् ।

कार्यक्रमको अघिल्लो दिन राजकिशोरनिकट एक कार्यकर्ताले पार्टी अध्यक्ष उपेन्द्रलाई फोन गरी आफूहरूले शनिबारको कार्यक्रम बहिस्कार गर्ने बताएका थिए ।

उपेन्द्रले सिराहाको कार्यक्रममा रेणु यादवलाई प्रमुख अतिथि बनाएका थिए । दोस्रो स्थानमा प्रकाश अधिकारी, तेस्रोमा विजय यादव र चौथो स्थानमा मात्र राजकिशोरलाई राखेका थिए ।

उपेन्द्रको कार्यबात राजकिशोर रुष्ट बनेका छन् । आफूलाई पहिलो मर्यादामा राख्नुपर्ने अडानमा राजकिशोरको छ ।

राजकिशोरको अडानलाई पार्टीका शीर्ष नेताहरूले लत्याएपछि उनले कार्यक्रम नै बहिस्कार गरेका हुन् ।

सिराहाको कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा रेणु यादवले सम्बोधन गरेकी थिइन् । राजकिशोर सिराहाको कार्यक्रममा सहभागी नभएको उनले प्रष्ट पारिन् ।

राजकिशोरनिकट पार्टीका कार्यकर्ता पनि जसपाको कार्यक्रममा उपस्थित भएका छैनन् ।

पार्टीले प्रदेश तथा जिल्ला समितिलाई जारी गरेको आन्तरिक सर्कुलरमा राजकिशोरलाई चौथो मर्यादामा राखिएको थियो ।

राजकिशोरलाई चौथो मर्यादामा राखिएकोमा राजकिशोर निकट राजाराम यादव र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भएको चर्काचर्कीको अडियो रेकर्ड अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

रेकर्डमा राजारामले मयार्दाको ख्याल नगरिएको गुनासो पोखेका छन् । सिराहामा हुने सभालाई आफूहरूले बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

उपेन्द्रले ‘जसपाको कार्यक्रममा नगई ओलीको कार्यक्रममा जान्छन्’ भन्दै व्यंग्य गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित