१० कार्तिक २०८३, मंगलबार

डोल्पामा आखेटोपहार र भरुवा बन्दुकसहित पाँच जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

डोल्पा, ३ माघ । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन्।

चोरी शिकारी नियन्त्रण एकाइले त्रिपुरासुन्दरी नगरपालिका–११ बाट उनीहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको हो। स्थानीयवासीका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–११ का मनबहादुर बुढा, चन्द्रप्रसाद बुढा, वडा नं ७ का गोकर्ण बुढा, चन्द्र केसी र सूर्यबहादुर बुढा छन्।

उनीहरुबाट दुई थान भरुवा बन्दुक, ५० थान गोली, दुई डिब्बा बारुद, बारुद भरिएको वन्यजन्तुको जस्तो देखिने दुई सिङ, कस्तुरीको दाराजस्तै देखिने ६ वटा, बन्दुकको केपको बट्टा, संरक्षित वन्यजन्तु कस्तुरी जस्तो देखिने दुईवटा खुट्टा, पासोमा प्रयोग गरिने १४ थान तारलगायत सामग्री बरामद गरिएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले जानकारी दिए।

पक्राउ परेका सबैलाई हिरासतमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ। निकुञ्जले यसभन्दा अगाडि पनि ३६ थान भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल, इन्सास राइफलका गोली पनि बरामद गरेको थियो।

भौगोलक कठिनाइ, विशाल भूगोल, न्यून जनशक्ति र अत्यधिक चिसोका बाबजुद पनि निकुञ्जले चोरी शिकारी नियन्त्रण कार्यलाई निरन्तरता दिइरहेको छ। पछिल्लो समय वन जङ्गल, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणका लागि निकुञ्जले स्थानीयवासीसँग समन्वयकारी भूमिका खेल्दै आएको छ।