शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नेपाल–भारत सीमाबाट पेस्तोलसहित एक युवक पक्राउ

दैनिक नेपाल २०७७ माघ १ गते १९:५३

सांकेतिक तस्वीर

महोत्तरी, १ माघ । नेपाल भारत सीमा नाकामा अवस्थित महोत्तरीको मटिहानी नगरपालिकामा नेपाल प्रहरीले आज पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका– १७ कपिलेश्वर गाउँ बस्ने २३ वर्षीय रामशङ्कर मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

युवक मण्डल आज बिहान करिब ११ः०० बजे पेस्तोल बोकी जनकपुरबाट मटिहानी गएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई मटिहानी नगरपालिका– ८ स्थितबाट पक्राउ गरेको हो ।

उनको साथबाट एक थान नलकटुवा पेस्तोल, त्यसमा लोड गरिएको अवस्थामा एक राउण्ड गोली र एक राउण्ड साथमा रहेको गोली प्रहरीले बरामद गरेको हो ।

पेस्तोल र गोलीसहित पक्राउ परेका युवक मण्डललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।

ट्र्याक्टर नियन्त्रणमा

वाग्मती–मकवानपुरको इलाका प्रहरी कार्यालय पशुपतिनगर कार्यालय हेटौँडाले अवैधरुपमा ल्याइएको काठ र ट्र्याक्टर तथा चालकसहित तीन जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरीे टोलीले जाँचका क्रममा उक्त अवैध काठसहित ट्र्याक्टर र त्यसमा सवार तीन जनालाई नियन्त्रणमा लिएको सो कार्यालयले जनाएको छ ।

जाँचका क्रममा उक्त ट्र्याक्टरबाट चिलाउने ३२.०२ क्युफिट, कर्माको ७.०३ क्युफिट र कर्माको ७.०३ क्युफिट गोलिया काठ बरामद गरेको बताइएको छ ।

हेटौंडाको भोर्लेस्थित धरान चतरा सडकखण्डमा हर्नामारी हुँदै हटियातिर जाँदै गरेको ना७त ११३५ नं को ट्र्याक्टरमा लोड रहेको काठका कागजपत्रबिना फेला परेपछि नियन्त्रणमा लिइएको थियो ।

पक्राउ पर्नेमा ट्र्याक्टर चालक हेटौंडा उपमहानगरपालिका–१८ का ३४ वर्षीय सन्तबहादुर जिम्वा, ४७ वर्षीय आइतराम जिम्वा तथा हेटौंडा–१७ का २९ वर्षीय अशोक तामाङ रहेको बताइएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको काठसहित ट्र्याक्टर तीन जनालाई जिल्ला वन कार्यालय मकवानपुरमा कारवाहीका लागि आज पठाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित