बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

प्रचण्डले गरे प्रधानमन्त्री ओलीको चर्को आलोचना

दैनिक नेपाल २०७७ पुष २९ गते १५:३०

काठमाडौँ, २९ पुस । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।

राजधानीमा आयोजित उक्त समूहको काठमाडौँ जिल्ला कार्यकर्ता भेलामा प्रचण्डले प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै संघीय लोकतन्त्र धरापमा परेको बताए ।

उनले भने, ‘७० वर्षभन्दा बढी समयबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा छ । संविधान धरापमा छ । यसको रक्षा गर्नु हाम्रो जिम्मेवारी छ । संघीय लोकतान्त्रिक गणतन्त्रका लागि हामी सबै गम्भीर छौँ । हाम्रै अगाडी यत्रो प्रहार भएको छ ।’

सम्बोधनका क्रममा प्रचण्डले आफूहरुले निर्वाचित प्रधानमन्त्रीले संघीयता मूल्य मान्यता विपरित गएको बताए । ‘हामीले नै निर्वाचित गरेको प्रधानमन्त्रीबाट, हामीले चयन गरेको अध्यक्षबाट संविधान र लोकतन्त्रमाथि प्रहार भएको छ । ऐतिहासिक जिम्मेवारीलाई गहिरो गरी वोध गर्न म सबैमा अपिल गर्छु’ प्रचण्डले भने, ‘हामीले संघर्ष गरेर ल्याएको संविधान धरापमा छ । गणतन्त्रमाथि आक्रमण भएपछि रक्षा गर्नुपर्ने ठाउँमा हामी उभिएका छौं ।’

‘अहिले त्यो धरापमा परेको छ । हिजो मैले पार्टी एकताका लागि केपी ओलीसँग प्रस्ताव लिएको रहेको थिए । त्यसलाई फर्केर स्मरण गरौं । हामी अलगअलग बसी राख्नुको औचित्य छैन भनेर मैले भनेको थिए । त्यसपछि केपी ओलीले सकारात्मक छु भन्नु भएको थियो । त्यसपछि हामीले बाम गठबन्धन घोषणा गरेका थियौं र नागरिकमा उत्साह छाएको थियो । देशमा सामाजिक न्यायसहितको समृद्धि हुन्छ भनेर देशैभरी छायो । जनताबाट पनि अनुमोदन भयो । दशकौँ वर्षदेखि बोलचाल नगर्ने साथीहरु दश दिनमै दशकै देखिको सम्बन्ध भएको जसरी प्रचारमा गए । पार्टी एकता गर्दा विचारमा प्राप्त गम्भिरता नदेखाएको भन्ने लाग्दैन । हामीले हतरपतर गरेर एकता गरिएको होइन । सोच विचार गरेर नै एकता गरिएको हो’ उनले भने ।

प्रचण्डले भने, ‘हामी उखान टुक्काले हसाएर कमेडी सो देखाउन जुटेका होइनौं । मान्छेहरुलाई उद्वेलित बनाउन उपस्थित भएका होइनौं । हाम्रा आँखा अगाडि यति ठूलो परिवर्तनमाथि प्रहार भएको छ । हामीले स्थापित गरेका परिवर्तनका मुद्दा एम्बुसमा परेपछि हामी एकजुट भएका हौं ।’

त्यस्तै, उनले माधव नेपाल तथा आफूलाई सिध्याउन प्रधानमन्त्री ओली लागेको समेत आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित