बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

एनसेल बाह्रखरी गल्फ माघ २४ गते पोखरामा हुने

दैनिक नेपाल २०७७ पुष २८ गते २०:५३

काठमाडौँ, २८ पुस । नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याउने उद्देश्यअनुरुप नियमित रुपमा सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण यसवर्ष पोखरामा आयोजना गरिने भएको छ ।

एनसेलसँगको विशेष सहकार्यमा माघ २३ देखि २५ गतेसम्म पोखरामा सम्पन्न हुन लागेको मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पोखराको पर्यटन प्रवर्द्धनका लागि यसवर्ष पोखरामा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

कोभिड–१९ ले संसारभरकै पर्यटन क्षेत्रलाई आक्रान्त पारेको वर्तमान अवस्थामा नेपालको पर्यटन क्षेत्र पनि अछुतो नरहेको र नेपालको पर्यटकीय राजधानी पोखराको पर्यटनमा नवीन ऊर्जा सञ्चार गराउनसके यसले सम्पूर्ण पर्यटन क्षेत्रलाईनै उत्साहित र सकारात्मक गति दिने विश्वासका साथ यो वर्ष पोखरालाई ‘एनसेल बाह्रखरी गल्फ’को केन्द्रबिन्दु बनाइएको प्रधानले जानकारी दिए ।

पोखरामा हुने यस प्रतियोगितामा काठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिस्पर्धा गराउनुका अतिरिक्त उल्लेखित सहरहरूबाट विशेष पाहुनाहरूलाई पनि निमन्त्रणा गरिने छ ।

खेलाडी र विशेष पाहुनालाई माघ २३ देखि २५ सम्म पोखराका विभिन्न स्थानको भ्रमण गराउने र साहसिक खेलमा सहभागी गराउने कार्यक्रम पनि समावेश गरिएको छ ।

साथै पोखरामा आन्तरिक पर्यटन र पर्यटनको पुनरुत्थानप्रति विशेष जागरुकता फैलाउने उद्देश्यले माघ २३ गते शुक्रबार साइकल ¥याली आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पोखराको हलनचोकदेखि हिमालयन गल्फ कोर्स विजयपुर मझेरीपाटनसम्म साइकल र्याली हुनेछ । गल्फ प्रतियोगिता हिमालयन गल्फ कोर्समा फेब्रुअरी ६ तारिख अर्थात माघ २४ गते हुनेछ ।

जहाँ ७२ जना कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका अल–राउण्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । साथै अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

एनसेल प्रमुख प्रायोजक रहेको गल्फ प्रतियोगितामा गल्फ खेलाडीसहित करिब दुई सय पाहुना सम्मिलित हुनेछन् । पोखराका प्रतिष्ठित उद्यमी, व्यवसायी तथा गण्यमान्य गरी करिब तीन सय पाहुना गल्फको पुरस्कार वितरण समारोहमा विशेष आमन्त्रित हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

गल्फर बाहेकका पाहुनाका लागि अल्ट्रालाइट, प्याराग्लाइडिङ, जीप फ्लाइङ, बन्जी जम्पिङ्, ¥याफ्टिङ, क्यानोनिङ र डुंगा सयरको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा उपस्थित पाहुनाका लागि १६ वटाभन्दा बढी होटलमा बस्ने व्यवस्था गरिएको छ भने रेष्टुरेन्ट एवम् बार एशोसिएसन पोखरासँग आवद्ध २५ बढी रेष्टुरेन्टमा बाह्रखरीका पाहुनाका लागि तीन दिन २३, २४ र २५ गते स्पेशल छुटको व्यवस्था हुनेछ ।

साथै पोखरा आइपुगेका पाहुनाले आफ्नै खर्चमा यस क्षेत्रको मनोरम दृष्य अवलोकन गर्न चाहेमा कैलाश हेलिकप्टर्स, अल्टिच्युड हेलिकप्टर्स तथा प्रभु हेलिकप्टर्सले विशेष छुटमा पोखरा र यस वरिपरीका हिमालयहरूको दृश्यावलोकन गराउनेछन् ।

एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ ।

अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स, र आईएमई रहेका छन् ।

बाह्रखरी मिडिया प्रतियोगिताको प्रमुख आयोजक रहेको प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले जानकारी गराए ।

बाह्रखरी मिडिया हाउसले अघिल्लो वर्ष सगरमाथा क्षेत्रमा गल्फ खेल आयोजना गरेको थियो । यो प्रतियोगिता विश्वकै सबैभन्दा उचाईमा (४२५० मिटर) गरिएको पहिलो प्रतियोगिता थियो, जसको समाचार विश्वका दुई सय बढी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सम्प्रेषण गरेका थिए ।

अमेरिकाबाट प्रकाशित हुने संसारकै सर्वोत्कृष्ट म्यागेजिन गल्फ डाइजेस्टले यो समाचारलाई कभरसहित ८ पेजमा विस्तृत विवरण प्रकाशित गरेको थियो ।

मंगलबार पोखरामा भएको पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले संसारभरका ठूला व्यक्तिहरुलाई नेपालप्रतिको आकर्षण बढाउनका लागि पनि प्रतियोगिता पोखरामा आयोजना गरिएको जानकारी गराए ।

गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरले गल्फ गर्न सजिलो नभएको बताउँदै बाह्रखरीले सगरमाथाको काखमा गल्फ गरेर रेकर्ड कायम गरेको भन्दै प्रशंसा गरेका थिए ।

नेपालमा गल्फ सुरु भएको करिब एक सय वर्ष भए पनि गति लिन नसकेको जनाउँदै एउटा मिडिया हाउसबाट भएको यस कामको स्रहाना गर्नुपर्ने बताए ।

गोकर्ण गल्फका निर्देशक दीपक आचार्यले गल्फ प्रतियोगिताको फर्म्याटका बारेमा जानकारी गराउँदै विजेताले गोल्डेन बल र उपविजेताले ट्रफी प्राप्त गर्ने बताए ।

हिमालय गल्फ कोर्स पोखराका निर्देशक किरण केसीले यस्तो बेलामा पनि साहसका साथ यो कार्यक्रम थालेको भन्दै पर्यटनलाई टेवा पुर्याउन यसले आइसब्रेकको काम गर्ने बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले पोखरालाई फुटबल, क्रिकेटले चिनाएको बताउँदै अब गल्फले पनि चिनाउन सहयोग गर्ने धारणा राखे ।

विदेशी पर्यटकले ४० देखि ५० डलरमात्रै पोखरा आएर दैनिक खर्च गर्ने भन्दै उनले यसलाई अलि विस्तार गर्न राज्यले पनि ध्यान दिनुपर्ने बताए ।

बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले कार्यक्रममा उपस्थितलाई धन्यवाद ज्ञापन गरेका थिए भने प्रबन्ध सम्पादक राजेश केसीले कार्यक्रमको सञ्चालन गर्दै पर्यटनमा कोभिडले पारेको असर र त्यसको पुनरुत्थानमा सहयोग पुर्याउनका लागि कार्यक्रम गर्न लागिएको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित