बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अमेरिकी राष्ट्रपति ट्रम्पलाई हटाउने प्रस्ताव दर्ता, हिंसालाई प्रोत्साहित गरेको आरोप

दैनिक नेपाल २०७७ पुष २८ गते ७:४२

वाशिङ्टन, २८ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउनका निम्ति तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव प्रस्तुत गरिएको छ ।

डेमोक्र्याटिक पार्टीद्वारा हाउस अफ रेप्रिजेन्टेटिभ्समा पेश गरिएको प्रस्तावमा ट्रम्पमाथि गत साताको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाइएको छ ।

बीबीसीले प्रकाशित गरेको समाचार अनुसार डेमोक्र्याटहरूले अमेरिकी संसद्‌मा राखेको प्रस्तावमा डोनल्ड ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ ।

उक्त प्रस्तावमाथि तल्लो सदनमा छिटोमा मङ्गलवार मतदान हुनसक्ने समाचारमा उल्लेख गरिएको छ ।

डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रो पटक महाभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरेको बताइएको छ ।

ट्रम्पमाथि नोभेम्बर महिनामा भएको चुनावमा जो बाइडनको जित उल्टाउने प्रयासमा गत बुधवार संसद्‍मा आक्रमण गर्ने आफ्ना समर्थकलाई प्रोत्साहित गरेको आरोप लगाइएको छ ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी प्रजातन्त्र र संविधानमाथि तत्काल खतरा रहेको बताएकी छन् ।

उनको पार्टीले अघि सारेका दुवै योजनाको उद्देश्य जनवरी २० तारिखमा पदावधि सकिनुअघि नै ट्रम्पलाई राष्ट्रपति भवनबाट निकाल्नु हो ।

त्यसको निम्ति उनीहरूले पहिलो प्रयास अमेरिकी संविधानको व्यवस्था अनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति पेन्सलाई तयार गर्ने देखिन्छ ।

त्यस प्रक्रिया अनुसार कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिमा आउँछ ।

त्यसपछि महाभियोग

संसद्को त्यो प्रयासमा तल्लो सदनको समितिमा रिपब्लिकन सांसदको असहमतिका कारण अवरोध उत्पन्न भएको छ ।

त्यसैले छलफल र सम्भवतः मतदानको निम्ति मङ्गलवारको समय निर्धारण गरिएको छ।
यदि पेन्स ट्रम्पलाई हटाउन तयार भएनन् भने कैयौँ विज्ञहरूले महाभियोग लगाउने प्रक्रियाको निम्ति प्रस्तुत प्रस्तावमा बुधवार छलफल सुरु हुने ठानेका छन् ।

महाभियोग विधेयकका प्रस्तावकहरूले तल्लो सदनबाट पारित गर्न आफूहरूसँग आवश्यक सांसद सङ्ख्या रहेको बताएका छन् ।

तल्लो सदनबाट ट्रम्पमाथि महाभियोग लगाइएमा उनलाई दोषि ठहर्‍याउने या नठहर्‍याउने भन्ने विषयमा माथिल्लो सदन सिनेटमा सनुवाइ हुने छ ।

त्यहाँबाट पारित हुन दुई तिहाई मत आवश्यक हुन्छ । तर त्यो प्रक्रिया तत्काल टुङ्गोमा पुग्नेमा डेमोक्र्याटहरू नै विश्वस्त देखिएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित