शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

संसद भवनमा हिंसात्मक गतिविधिमा संलग्न ट्रम्पका समर्थकहरू धमाधम पक्राउ

दैनिक नेपाल २०७७ पुष २६ गते ८:५३

न्युयोर्क, २६ पुस । अमेरिकी संसद भवनमा हिंसात्मक गतिविधिमा संलग्न भएका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु पक्राउ पर्ने क्रम जारी छ ।

फेस पेन्टसहित सिङ्गयुक्त ‘ह्याट’ लगाएर संसद भवन आक्रमणमा संलग्न व्यक्ति पक्राउ परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनी आधारहिन कन्स्पिरेसी थ्यौरी क्यूएननका फलोअर रहेको जनाइएको छ ।

ज्याकोब एन्थोनी चान्स्ली नाम गरेका ती व्यक्ति ज्याक एन्जेलीका रुपमा चिनिन्छन् । उनलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।

उनीविरुद्ध हिंसात्मक गतिविधिमा संलग्न रहेको अभियोग दर्ता भएको छ । ज्याकोब एन्थोनीले आफूलाई क्यूएनन शम्यानका रुपमा चिनाउँछन् ।

अमेरिकी संसद भवनमा बुधबार ट्रम्पका समर्थकहरुले आक्रमण गरेका थिए । सो आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको छ ।

सो आक्रमणका लागि उक्साएको अभियोग लागेका राष्ट्रपति ट्रम्प चौतर्फी आलोचनाको केन्द्रमा छन् । उनीमाथि पुनः महाअभियोग लगाउने तयारी समेत भएको छ ।

बुधबार भएको आक्रमणमा सहभागी भएकाहरुको खोजीका लागि संघीय अनुसन्धान ब्यूरो (एफबिआई)ले सर्वसाधारणसँग सहयोगका लागि अपिल गरेको छ ।

पक्राउ परेका एन्थोनीले अहिलेसम्म आफूमाथि लागेका अभियोगबारे टिप्पणी गरेका छैनन् । सभामुख न्यान्सी पेलोसीको मञ्च स्ट्याण्ड बोक्दै गरेको देखिएका व्यक्ति पनि पक्राउ परेका छन् ।

उनी फ्लोरिडाका ३६ वर्षे एडम जोन्सन रहेको वासिङ्गटन डिसीका संघीय न्यायाधीवक्ताले बताएका छन् । उनीविरुद्ध सरकारी सम्पतीको चोरी तथा हिंसात्मक रुपमा प्रवेश गरेको अभियोग दर्ता भएको छ ।

पक्राउ पर्नेमा वेष्ट भर्जिनियाका सांसद डेरिक इभान्स पनि रहेका छन् । उनले भिडियो अनलाइनमा पोस्ट गरेका थिए । अहिलेसम्म कम्तिमा १७ जनालाई सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित