१० कार्तिक २०८३, मंगलबार

मणिग्राम–मोतीपुर जोड्ने पुल दशैँ अगाडि सञ्चालन हुने, खाँणद्वारा निरीक्षण

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, १८ पुस । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री बालकृष्ण खाँणले रुपन्देही जिल्लास्थित मणिग्राम र मोतीपुर जोड्ने पुल निर्माण कामको प्रगति विवरणको जानकारी लिएका छन् ।

शनिबार बिहान पुल निर्माणस्थलमा पुगेर सडक डिभिजन कार्यालय बुटवलका ईञ्जिनियर दुर्गा गौतमसँग पुलको कामका विषयमा जानकारी लिएको कांग्रेस नेता विमल ढकालले जानकारी दिए । ईञ्जिनियर गौतमले मणिग्राम र मोतीपुर जोड्ने यो पुललाई आगामी दशैँसम्म सञ्चालनमा ल्याउने गरेर काम भइरहेको बताए ।

कांग्रेस नेता खाँणले पुलको काममा ढिलाइ भएको भन्दै चिन्ता जनाए । उनले भने, ‘यतिका धेरै वर्ष भइसक्यो पुल निर्माणमा ढिलाइ भएको छ । केही प्राविधिक समस्या छ भने पनि छिटो समाधान गरेर गर्नुपर्ने थियो । जनताले दुःख पाए ।’

तिलोत्तमा गोरकट्टा तिनाउ नदीमा निर्माण भइरहेको मणिग्राम–मोतीपुर जोड्ने पुलको वैकल्पिक डिजाइन स्वीकृत भएपछि पुनः काम धमाधम भइरहेको छ ।
०६७ सालको असार २५ गते पुल निर्माण गर्ने सम्झौता भएको थियो ।

पुलको ३ वटा फाउण्डेसन र २ स्यालप ढलान भएपछि काम राकिएको थियो । ६ वटा फाउण्डेसन रहने गरी डिजाइन गरिएको पुलका ३ वटा फाउण्डेसनमा चट्टान परेका कारण निर्माणको काम रोकिएको थियो ।

पुलको वैकल्पिक डिजाइन स्वीकृत गराएर काम शुरु भएको ईञ्जिनियर गौतमले बताएका छन् । पहिला वेयल फाउण्डेसन डिजाइनमा स्वीकृत भएको थियो ।

पाइल फाउण्डेसन निर्माण गर्दा यसअघि निर्माण भएका वेयल फाउण्डेसनको सपोटमा पाइल फाउण्डेसन तयार हुनेछ । किला गाडेर तयार पारिनेछ ।

पहिलो चरणमा २४ पुस ०६९ मा सक्ने गरी १० करोड ३७ लाख ९५ हजार रुपियाँमा काठमाडौंको एलिट कन्ट्रक्सनले ठेक्का पाएको थियो । पाइल डिजाइनबाट फाउण्डेसन थप गर्दा केही रकम ठेक्का रकममा थप हुनेसमेत बताइएको छ ।

पुल निर्माण भएपछि मोतीपुर, शुद्धोधनबाट तिलोत्तमा आउन दूरी घट्नेछ । लुम्बिनी जाने आन्तारिक एवं बाह्य पर्यटक सीधा पुग्न सक्नेछन् । यो पुल बुद्ध सर्किटमा समेत पर्दछ ।

कांग्रेस नेता खाँणको विशेष पहलमा यो पुलको योजना परेको थियो । खाँणले पुल समयमा निर्माण गर्न पटक–पटक दवाव दिँदै आएका छन् । पुल निर्माणमा ढिलासुस्ती भएपछि नेता खाँण शनिबार आफै पुल निर्माण भएको स्थानमा पुगेर अनुगमन गरेका हुन् ।