शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

अमेरिकी राष्ट्रपति ट्रम्पको भिटो सदनद्वारा खारेज

दैनिक नेपाल २०७७ पुष १८ गते ८:१४

न्युयोर्क, १८ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा विधेयकमा प्रयोग गरेको भिटो सदनले खारेज गरिदिएको छ ।

सदनका दुवै सदनमा लामो छलफलपछि पारित भएको सुरक्षा खर्चसम्बन्धी विधेयक रोक्न राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गरेका थिए । सदनले भिटो रद्द गरिदिएको बीबीसीले जनाएको छ ।

ट्रम्पको चार वर्षे कार्यकालमा उहाँको भिटो संसदले पहिलोपटक रद्द गरेको हो । सदनले ट्रम्पको भिटो अवहेलना गर्नेसम्बन्धी पक्षमा मत दिएको छ ।

डेमोक्रेटिक पार्टीको बहुमत रहेको तल्लो सदनले यसअघि नै भिटो रद्द गर्ने पक्षमा मत दिएको थियो । रिपब्लिकनहरूको बहुमत रहेको माथिल्लो सदन सिनेटले पनि भिटो खारेज गर्ने पक्षमा निर्णय गरेको हो ।

सात सय ४० बिलियन डलर बराबरको सुरक्षा खर्चसम्बन्धी विधेयक सदनबाट डिसेम्बरमा पारित भएको थियो । ट्रम्पले भिटो शक्ति प्रयोग गरेर त्यस विधेयकलाई कानून बन्नबाट रोकेका थिए ।

विधेयकमा अफगानिस्तान तथा युरोपमा रहेका अमेरिकी सैनिक कति संख्यामा फिर्ता बोलाउन सकिने भनि तोकिएको सीमा र सैनिक बेसबाट कन्फेडेरेड नेतृत्वको नाम हटाउने व्यवस्थामा ट्रम्पको विरोध थियो ।

दुवै पार्टीको सहमतिमा ल्याइएको र अत्याधिक बहुमतले पारित भएकाले राष्ट्रपतिले भिटो प्रयोग गरेर रोक्न खोजे पनि त्यसलाई सदनले अस्वीकार गरेको हो ।

राष्ट्रपतिले प्रयोग गरेको भिटो खारेज गर्नका लागि संसदका दुवै सदनबाट दुई तिहाई बहुमत चाहिन्छ । सदनले राष्ट्रपति ट्रम्पको भिटो खारेज नगरेको भए पछिल्लो ६० वर्षमा पहिलो पटक नेशनल डिफेन्स अथोराइजेशन एक्ट कानुन बन्नबाट रोकिने थियो ।

प्रतिक्रिया
सम्बन्धित