१ कार्तिक २०८३, आइतबार

पूर्वाधारमा बैंकको तीन खर्ब

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १५ पुस । अघिल्लो साता नौ वाणिज्य बैंकले दोलखाको बिगु गाउँपालिकामा निर्माण भइरहेको लाप्चे जलविद्युत् आयोजनामा १९ अर्ब ६५ करोड रूपैयाँ मिलेर लगानी गर्ने सम्झौता गरे।

सरकारी स्वामित्वको नेपाल बैंकले पाँच अर्ब रूपैयाँ लगानी गर्ने सम्झौता गरेको उक्त आयोजनामा इन्भेस्टमेन्ट बैंकले तीन अर्ब ५० करोड, राष्ट्रिय वाणिज्य, हिमालयन बैंक तथा कर्मचारी सञ्चय कोषले दुई/दुई अर्ब रूपैयाँ लगानी गर्ने सहमति गरे। एक सय ६० मेगावाट विद्युत् उत्पादन क्षमताको उक्त आयोजनामा लक्ष्मी, कृषि विकास, एसबिआई, बैंक अफ काठमान्डुलगायत वित्तीय संस्थाले पनि लगानी गर्ने सम्झौता गरेका छन्।

विकास निर्माणका काममा लगानी गर्न स्थापना गरिएको इन्फ्रास्टक्चर बैंकले पहिलो लगानी कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित करुवा सेती हाइड्रोपावरमा गर्‍यो। उक्त परियोजनामा इन्फ्रास्टक्चरसहित हिमालयन र सानिमा बैंकले पाँच अर्ब ८० करोड रूपैयाँ लगानी गर्ने सम्झौता गरेका छन्।

परियोजना सकिएपछि ३२ मेगावाट विद्युत् उत्पादन हुनेछ। केही समयअघिसम्म नेपालका बैंकहरू ठूला आयोजनामा लगानी गर्न आनाकानी गर्थे। माथिका यी उदाहरणले अहिले समय फेरिएको देखाएको छ। बैंकहरू ठूल्ठूला आयोजनामा लगानी गर्न थालेका छन्। सके एक्लैले नसके मिलेर बैंकहरूले कर्जा लगानी गर्न थालेपछि एकातिर ठूला आयोजनाले गति लिने अपेक्षा गरिएको छ भने अर्कातर्फ समूहमा काम गर्ने संस्कृतिको विकास भइरहेको छ।

पछिल्लो समय बैंकहरूले ठूल्ठूला आयोजनामा लगानी गर्ने क्रम बढ्दै गएको सम्बद्ध अधिकारी बताउँछन्। ‘केही वर्षयता संघ मात्र नभई प्रदेश र स्थानीय तहमा पनि भौतिक पूर्वाधारका थुप्रै काम हुन थालेका छन्,’ नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी भन्छन्, ‘जसले गर्दा बैंकलाई लगानी गर्न सहज मात्र भइरहेको छैन। पूर्वाधार निर्माणमा पनि टेवा पुगिरहेको छ।’

बैंकर्स एसोसिएसनका अनुसार असोजसम्म वाणिज्य बैंकहरूले विभिन्न क्षेत्रमा ३० खर्ब ३० अर्ब ४१ करोड रूपैयाँ लगानी गर्दा निर्माण क्षेत्रमा तीन खर्ब एक अर्ब २९ करोड रूपैयाँ कर्जा प्रवाह भएको छ। निर्माण क्षेत्रमा प्रवाह भएको कर्जामध्ये असारदेखि असोजसम्म मात्र ६ अर्ब १७ करोड ३० लाख रूपैयाँ लगानी भएको एसोसिएसनले जनाएको छ। रुद्र खड्काले नागरिक दैनिकमा समाचार लेखेका छन् ।