
कैलाली, १३ पुस । धनगढी उपमहानगरपालिका–१० जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साँउदको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न धनगढी उपमहानगरपालिका–१० जुगेडाकै सुकबहादुर भन्ने ३४ वर्षीय अमर रानालाई आइतबार साँझ पक्राउ गरेको प्रहरीले बताएको छ ।
घटनाका मुख्य योजनाकार अमर घटनापछि फरार थिए । विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१९ फुलबारी क्षेत्रको नेपाल भारत सीमा नजिकमा उनलाई फेला पारी पक्राउ गरेको हो ।
सीमावर्ति क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रण प्रयोजनार्थ जुगेडाको दक्षिणी भागमा नियमित गस्ती गर्ने क्रममा भारततर्फ गोरु गाडामा मटर तस्करी गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले गत कात्तिक १ गते प्रहरीद्वय बिक र साँउदलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए ।
हत्या गरिएका प्रहरी सहायक निरीक्षक गोबिन्दको शव भोलीपल्ट बिहान मोहना नदीमा फेला परेको थियो भने प्रहरी जवान रामबहादुरको शव कात्तिक ४ गते बिहान सोही नदीमा फेला परेको थियो ।
घटनामा संलग्न ९ जना पर्कु भन्ने रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राजकुमार राना, राम निवास राना, टल्लु भन्ने दलराम राना, रोहित राना, गोपाल भन्ने राम गोपाल राना र राजिव गुप्तालाई यस अघिनै प्रहरीले पक्रिसकेको छ ।
यसअघि पक्राउ परेकाहरुलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीमा पेश गरिएकोमा अदालतको आदेशले ८ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने राजिव गुप्ता १ लाख ५० हजार रुपैयाँ धरौटी तिरी तारेखमा छुटेका छन् ।
मुख्य अभियुक्त अमर रानालाई सोमबार जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।















प्रतिक्रिया