
काठमाडौं, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरी थप गरेका तथा मन्त्रालय हेरफेर भएका मन्त्रीहरुले आज पदभार ग्रहण गर्दै छन् ।
गत शुक्रबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेका तथा जिम्मेवारी हेरफेर भएका मन्त्रीहरुले आज पदभार ग्रहण गर्न लागेका हुन् । शुक्रबार अबेर सपथ खाएका मन्त्रीहरु हिजो शनिबारको बिदा परेकाले मन्त्रालय जान पाएनन् ।
राष्ट्रपति भण्डारीले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा टोपबहादुर रायमाझी, सहरी विकास मन्त्रालयमा प्रभु साह, खानेपानीमा मणि थापा, तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा गौरीशंकर चौधरीलाई नियुक्त गरेकी थिइन् ।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश सिंह ठगुन्ना, वन तथा वातावरणमा प्रेमबहादुर आले, युवा तथा खेलकूदमा दावा लामा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा जुलीकुमारी महतो नियुक्त भएका छन् ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीमा विमला विकलाई नियुक्त भएकी छिन् ।















प्रतिक्रिया