३ कार्तिक २०८३, मंगलबार

चिनियाँ उपमन्त्रीसहितको टोली आज नेपाल आउँदै, के–के छ कार्यक्रम ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । चिनियाँ उपमन्त्रीसहितको टोली आज नेपाल आउँदै छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा राजनीतिक संकट गहिरिँदै गएका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली आज काठमाडौं आउन लागेको हो ।

टोली बेइजिङबाट छङ्तुको बाटो हुँदै दिउँसो काठमाण्डौ आइपुग्ने कार्यक्रम छ । तर, भ्रमणबारे चिनियाँ दूतावास र नेपाल सरकारले थप जानकारी गराएका छैनन् । उपमन्त्री गुओसहित ४ जनाको टोलीले नेकपाका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

नेकपामा विभाजन आएपछि चिनियाँ कम्युनिष्ट पार्टीले चासो र चिन्ता व्यक्त गरेको छ भने नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले पनि नेकपा नेताहरुसँगको भेटघाटलाई तीव्र पारिरहेकी छिन् ।

उपमन्त्री गुओ नेतृत्वको प्रतिनिधिमण्डल नेपालमा चार दिन रहने छ । त्यस क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधनमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत नेतासँग भेटवार्ता गर्ने तय भएको छ ।

चीनले नेकपाको विभाजनले नेपालमा अस्थिरता झन् बढ्ने र संविधान निर्माणभन्दा अगाडिको अवस्थामा नेपाल पुगेको विश्लेषण गरेको छ । त्यही भएर पनि उसले पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीलाई नै विभाजनभित्रको कारण खोतल्ने उद्देश्यले काठमाडौं पठाएको हुन सक्ने अनुमान गरिएको छ ।

गुओ अन्तर्राष्ट्रिय विभागमा ३३ वर्षदेखि कार्यरत छन् । विभागका चार जना उपमन्त्रीमध्ये कुओ सबैभन्दा वरिष्ठ नेता हुन् । आज आउन लागेका नेता गुओ ०७४ फागुन ८ मा पनि नेपालमा थिए ।

एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले बलियो बहुमत पाएपछि ०७४ फागुन ३ मा ओली प्रधानमन्त्री भएलगत्तै उनी आएका थिए । गुओको भ्रमण भएको तीन महिनापछि एमाले र माओवादीबीच पार्टी एकीकरण भएको थियो  ।