काठमाडौं, ११ पुस । पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्रता दिएर कर्मचारी संयन्त्रलाई थप बलियो बनाए पनि अझै राजस्व छलीको शृंखला रोकिएको छैन ।
मुलुक संकटमा परेको मौकामा राजस्व छली गर्नेहरू अझ सक्रिय हुन सक्ने भन्दै बजार अनुगमन कार्यलाई तीव्रता दिएको राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाएर करिब २० करोड रुपैयाँ राजस्व छलेको फेला पारेको छ ।
विभिन्न तरिका अपनाएर राजस्व छल्नेविरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरी करोडौं रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्म, कम्पनी र व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले राजस्व छलीको आरोपमा विभिन्न कम्पनीका सञ्चालक र कारोबारीसहित पाँच जनाविरुद्ध राजस्व छलिएको रकम बराबर बिगो दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उनीहरूमाथि कुल १९ करोड ९६ लाख रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।
अनुसन्धानको क्रममा राजस्व छलिएको रकमसहित बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।
विभागका अनुसार झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट बिल) बिजक प्रयोग गरी राजस्व छली गर्ने कविला सप्लायर्स सेन्टरका नवलकिशोर चौधरीलाई २ करोड १४ लाख ३० हजार २ सय ३८ रुपैयाँ, शिवम प्याकेजिङ एन्ड सप्लायर्सका सञ्चालक सीतादेवी जयसवालबाट ५ करोड ८८ लाख ६५ हजार ९ सय १९ रुपैयाँ र गौतम सप्लायर्सका मुकेशप्रसाद चौधरीबाट ५ करोड ३२ लाख १६ हजार १ सय ८८ रुपैयाँ गरी १३ करोड ३५ लाख १२ हजार ३४५ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ ।
राजस्व छलीमा संलग्न कविला सप्लायर्स सेन्टरका सञ्चालक चौधरी भारत स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका–२ सानेपामा बस्दै आएका थिए भने शिवम प्याकेजिङ एन्ड सप्लायर्सका प्रोपाइटर जयसवाल धनुषाको जनकपुर उपमहानगरपालिका स्थायी घर भई हाल ललितपुरको सानेपामा बस्दै आएकी थिइन् ।
यसैगरी विभागले झुटा तथा नक्कली भ्याट बिजक प्रयोग गरी राजस्व छली गर्ने शिवम ट्रेडर्स एन्ड सप्लायर्सका सञ्चालक जगदीश सहनी मलाहलाई ४ करोड ७९ लाख ६९ हजार ४ सय ४७ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
राजस्व चुहावट गर्ने नियतले गलत विवरण घोषणा गरी राजस्व छलीमा संलग्न पोखरास्थित अनुष्का मल्टिप्रपोज कम्पनीका शिवलाल तिम्लसिनासहित तीन जनाबाट १ करोड ८२ लाख ५३ हजार ४ सय ६१ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । मधुजंग पाण्डेले राजधानी दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया