
काठमाडौं, १० पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले फुटाउने केपी ओली नै भएको बताएका छन् ।
प्रचण्ड–माधव समूहले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै दाहालले आफूले केपी ओली र माधव नेपालबीच मिलन गराउन खोज्दा यस्तो दुर्घटना भएको स्वीकार समेत गरेका छन् ।
पार्टी एकीकरणपछि पूर्वएमाले भित्रको गुटबन्दी मिलाउन खोज्दा केपी ओलीले वर्तमान कदम चालेको भन्दै दाहालले एमाले फुटाउने आफू नभएर केपी ओली नै भएको दाबी गरेका हुन् ।
‘नवौं महाधिवेशनपछि जसरी तत्कालिन एमालेभित्र केपी ओली पक्ष र माधव नेपाल पक्ष भनेर बनेको रहेछ, एकीकरणपछि मेरो जोड ती दुई पक्षबीच कसरी संयोजन गर्ने होला भन्नेमा केन्द्रित भयो’, प्रचण्डले भने, ‘केपीजी चाहाने माधवजीको पक्ष कुनै जिल्लामा नआवस्, केन्द्रमा नि नआवस्, प्रदेशमा नरहोस्, जनसंगठनको नेतृत्वमा नरहोस् भन्ने, मचाहिँ माधवजीको पनि उत्तिकै छ त ताकत । त्यसो भएको हुनाले माधवजीको पनि उत्तिकै हुनुपर्छ भनेर जोड्न खोज्ने मान्छे हुँ म, केपी ओलीलाई मन नपरेको त्यही हो ।’
‘त्यसैले एमाले फुटाउने केपीजी हो, म होइन’, दाहालले भने ।
दाहालले माधव नेपाल र आफ्नो पञ्चायत बिरोधी आन्दोलनदेखि सहकार्य भएको बताए । ५० वर्ष लामो सम्बन्ध भएकाले कहिलेकाहीँ उतारचढाब पनि आएको उनको भनाइ छ ।
उनले नेपालसँगको सम्बन्ध अब दीर्घकालीन हुने पनि संकेत गरे । ओली निरंकुस हुँदा नेकपा फुटको अवस्थामा पुगेको उनको तर्क छ । दाहालले आफूले अपमान सहेर पनि एकता चाहेकाले ओलीले जहिले आफूलाई पेल्न खोजेको बताए ।















प्रतिक्रिया