
काठमाडौं, १० पुस। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सरकार गठनदेखि नै विपक्षी दलका नेता जसरी उभिएका भीम रावललाई विभाजित नेपाल कम्युनिस्ट पार्टीमा कुनै पनि पद हात नलाग्ने भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका पक्षमा खुलेर लागेका उनलाई ओलीले पनि कर्नरमा राखेका थिए। यसैकारण रावल ओलीविरुद्ध र सरकारविरोधी विषयमा चर्को बोल्ने गर्दथे।
कतिपय संसदीय समितिका बैठकमा त रावल र ओलीनजिक मानिएका मन्त्री प्रदिप ज्ञवालीबीच भनाभन समेत भएको थियो। प्रचण्ड–नेपाल समूहले गरेका अनेक भेलामा रावल प्रवक्ता जसरी अगाडि बढ्ने गरेका थिए।
अहिले विभाजित पार्टीको महासचिव पदमा दाबी गरेका रावललाई सचिवालयमा समेत लैजाने तयारीमा छैनन् प्रचण्ड र नेपाल। बरु उनको विकल्पमा सुरेन्द्र पाण्डेलाई रोजिएको छ।
‘पाण्डे नेपाल समूहका रहेका र प्रचण्डसँग पनि नजिक रहेका कारणले महासचिव बनाउने तयारी भएको छ। यहि विषयले पनि केन्द्रीय समितिमा विवाद हुने भएपछि निर्णय नभएको हो’, नेताहरू भन्छन्,‘रावललाई कुनै पद दिने तयारी छैन। स्थायी समितिमा रहन्छन्।’
त्यसो त नेकपाको स्थायी समितिमा विभाजन अघि समेत रावल रहेका थिए। ‘प्रचण्ड र नेपालका पक्षमा सेनापति जस्तो भएर फ्रन्टलाइनमा उभिएका उनलाई कर्नरमा पार्न खोजिएको छ, यसैको असन्तुष्टि छ अहिले’, रावलनिकट नेताले भने।















प्रतिक्रिया