शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

पर्यटन प्रवर्धनका लागि ‘घुमौं सौराहा’ अभियान शुरू

राजेन्द्र आचार्य २०७७ पुष ६ गते १४:४१

चितवन, ६ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा पहिलो पटक पर्यटन प्रवर्धनका लागि ‘घुमौं सौराहा अभियान शुरू गरिने भएको छ ।

नाकाबन्दी, भुकम्प, मुग्लिन नारायणगढ सडक स्तरोन्नतिका कारण मारमा परेको सौराहा कोरोना भाईरसँगै ठप्प बनेको थियो । जसका लागि होटेल व्यवसायीहरुको साझा संस्था क्षेत्रीय होटेल संघ सौराहाको आयोजनामा घुमौं सौराहा अभियान शुरू गरिने भएको हो ।

आन्तरिक पर्यटनमार्फत क्रमिक रुपमा चलायमान बन्दै गएको सौराहामा पर्यटक आकर्षित प्याकेजसहित देशका विभिन्न भागमा पत्रकार सम्मेलनसँगै व्यावसायिक भेटघाट राख्दै यहि पुस १० गतेबाट अभियान शुरू गरिने क्षेत्रीय होटेल संघका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए ।

अभियानको क्रममा पुस १० गते विराटनगर, पुस ११ गते जनकपुर, पुस १२ गते वीरगञ्जमा विविध कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ ।

‘कोरोना भाइरसका कारण पर्यटन उद्योग ठप्प छ’, अध्यक्ष भट्टराईले भने, ‘स्वदेशभित्र भने घुम्न र पर्यटकहरुलाई आकर्षित गर्न घुमौं सौराहा अभियान शुरू गर्न लागेका हौं । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैंडा, बाघ, भालुलगायत जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन् । सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो ।’

स्वदेशी पर्यटकलाई सस्तो मूल्यमा घुम्न पाउने अवसर दिने योजना अनुसार सुरु गरिने कार्यक्रमले सौराहाको पर्यटनमा नयाँ आयम थपिने होटेल संघका महासचिव गुणराज थपलियाले बताए ।

कोरोनाका कारण घरमै बस्दा हैरान भएको व्यक्तिहरु घुम्ने प्रचलन बढ्दै गएकाले आकर्षक प्याकेजसहित कार्यक्रम घोषण गर्ने संघले जनाएको छ ।

‘हाम्रो उद्देश्य नेपालीहरुले विदेश होइन स्वदेशमै घुम्नुपर्छ भन्ने मान्यता अनुसार सस्तो प्याकेजसहित घुमौं सौराहा अभियान ल्याएका हौं’, थपलियाले भने । यसले सबैलाई आकर्षित गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित