शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कांग्रेसद्वारा धरानमा १३औँ सागका पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान

दैनिक नेपाल २०७७ पुष ५ गते ९:१०

धरान, ५ पुस । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले धरानका १३औँ साग गेमका पदक विजेता खेलाडी र प्रशिक्षकहरूलाई सम्मान गरेको छ ।

धरान उप–महानगरपालिका– १२ स्थित अमान बजारमा शनिबार पदक विजेता खेलाडीहरूलाई विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सम्मान गरेका हुन् ।

धरानबाट १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा स्वर्ण तथा रजत पदक प्राप्त गर्ने खेलाडीहरू बास्केटबलतर्फ डा. आशा राई, तेक्वान्दोतर्फ युनिशा राईलाई नगद ५ हजारसहित सम्मान गरिएको छ ।

सागमा स्वर्ण पदक प्राप्त गर्ने फुटबलतर्फ हेमन्त थापा मगर, गल्फतर्फ टंक कार्की, शुक्रबहादुर राई र नीरज तामाङलाई १०–१० हजारका दरले सम्मान गरिएको छ ।

तेक्वान्दोतर्फ सिना मादेन, सुशीला राई र स्वस्तिका तामाङलाई जनही १० हजारका दरले नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

प्रशिक्षकहरूमा बास्केट बलतर्फ विकास रार्ई, तेक्वान्दोतर्फ गोपाल राई र मदन राईलाई नगद एक–एक हजारसहित सम्मान गरिएको छ ।

बक्सिङतर्फ अनुप लामा, टेबल टेनिसतर्फ विनोद शाक्य र करातेतर्फ दीपेश शाक्य सम्मानित भएका छन् ।

कार्यक्रममा व्यक्ति विशेष नगद ५ हजारसहित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी नर्स पदमकुमारी लिम्बु, कुचिकार गोविन्द मरिक र यातायात मजदुरतर्फ विकास राई सम्मानित भएका छन् ।

संस्थागतरुपमा होप धरान, सञ्जीवनी पुनर्स्थापना केन्द्र धरान, परिवार नियोजन संघ, रेडक्रस सोसाइटी धरान सुनसरी, लाइन्स् क्लव धरान, धरान जेसिसलाई सम्मान स्वरुप उपहार प्रदान गरिएको छ ।

नेपाली कांग्रेसका योद्धा हेमलाल याङदेन लिम्बु, महिला अधिकारकर्मी मीना पुलामी मगरलाई विशेष सम्मान गरिएको छ ।

प्रदेश १ का बास्केट बल खेलाडी प्रदीप गुरुङको उपचारका लागि नगद १० हजार हजार प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद विभागका प्रमुख बस्नेतले दुईतिहाइको सरकारले गरेको बेरुजु तथा देशको बेथितिको कांग्रेसले एक–एक हिसाब किताब राखेको चेतानवी दिए । उनले बेथितिका विषयमा समय आएपछि कांग्रेसले हिसाब लिने बताएका छन् । उनले भने, ‘कम्युनिस्ट सरकारको कर प्रणाली सर्वहारा हैन, गरिब मारा छ ।’

उनले देशको माटो, भूगोल र गौरवलाई ख्याल गरेर सुध्रिएर राष्ट्रको हितमा काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

‘मानवीय संवेदना लाई ध्यानमा राखेर काम नगरे त्यो सरकार राष्ट्रवाद प्रमाणित हुने तथा लामो समय टिक्नेछैन’, पूर्वमन्त्री समेत रहेका बस्नेतले भनेका छन् ।

नेता बस्नेतले कमाउनका लागि कम्युनिस्टहरू लाइन लागेर बसेको आरोप लगाए । ‘कम्युनिस्टहरूलाई भने जस्तो भएन भने काटमार गर्छन्’, उनले भने, ‘हामीले दिएको रगत ती कम्युनिस्टका नेता कार्यकर्ताहरूलाई पनि काम लाग्छ ।’

कांग्रेसको मानवताको भावले ओतप्रोत पार्टी भएकाले जनताप्रति मानवीय जिम्मेवारी कायम गर्दै बिरामीहरूलाई रगतको आपूर्तिमा सम्भव भएसम्म सहयोग पु¥याउने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरिएको नेता बस्नेतले बताएका छन् ।

कांग्रेस नेता डा. गोविन्द सुब्बाले कम्युनिस्ट सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाए ।

खेलकुद विभागका उपाध्यक्ष मोहन राईले समयअनुसार परिवर्तन हुनु जरुरी रहेको बताएका छन् । उनले भने, ‘पार्टीमा नेता कार्यकर्ताले उन्नति प्रगतिसँगै अनुशाशीत मर्यादित भएर काम गर्नुपर्छ ।’

कांग्रेसको खेलकुद विभागले धरानमा आयोजना गरेको शनिबारको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् ।

कोभिड–१९ का कारण देशैभर रगत अभाव भइरहेको बेलामा कांग्रेसले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । ती रक्तदानका कार्यक्रमहरूमा रक्तदाता र कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको हौसला बढाउन विभागका प्रमुख बस्नेत आफै पुग्ने गरेका छन् ।

रक्तदान कार्यक्रममा एन्फा उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता किशोर राईले ‘वी धरान’ नामक एप्सको औपचारिक शुभारम्भ गरेका छन् ।

एप्समा आकस्मिक अवस्थामा आफूलाई चाहिएको रगत खोजी सहज रूपमा रक्तदातालाई मोबाइल सम्पर्क गरी रगतको आग्रह गर्न सकिनेछ ।

धरान नगर क्षेत्रमा बसोबास गर्ने जो कोहीले पनि रक्तदाताको रूपमा आफूलाई दर्ता गराउन सक्ने सुविधा रहेको छ ।

एप्समा रक्तदानको विवरण इन्ट्री गराएपछि तीन महिनासम्म रक्तदातालाई कुनै पनि कल नआउने तथा तीन महिना पछि स्वचालित रूपमा डाटा अद्यावधिक भई पुन रक्तदानको आग्रह हुन सक्ने प्रणाली रहेको छ ।

एप्समा रक्तदानको साथै आकस्मिक नम्बरहरू पनि उपलब्ध रहेको छ । धरानभित्र रहेका सम्पूर्ण एम्बुलेन्स, शव वाहन, प्रहरी चौकी तथा मेयर, उपमेयर तथा वडाका जनप्रतिनिधिहरूको सम्पर्क नम्बर उपलब्ध रहेको छ ।

एप्सले धरानमा उपचार गर्न आउने बिरामी तथा स्थानीयहरूलाई आकस्मिक अवस्थामा रक्तदाता खोज्न सहायता उपलब्ध गराउनेछ ।

कार्यक्रममा नेता बस्नेतका साथै खेलकुद विभागका केन्द्रीय सदस्य किशोर राई, नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता एवम् सुनसरी जिल्ला सभापति राजीव कोइराला, खेलकुद विभागका सह–संयोजक मोहन राई, धरान उप–महानगरपालिकाका मेयर तिलक राई, सुनसरीका सुरज लामालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित