
वाशिङ्टन, ४ पुस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र आगामी प्रथम महिला जिल बाइडेनले सोमबार फाइजर खोपको पहिलो डोज लिने भएका छन् ।
हालका ट्रान्जिसन टिमका प्रवक्ता जेन साकीले स्थानीय समयअनुसार शुक्रबार जानकारी दिएका हुन् । यस्तै, उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस र उनका पति दोग इम्होफले आगामी साता खोप लिने तयारी छ ।
फाइजर खोप केही साताको अन्तरालमा दुईपटक गरेर दिइन्छ । यसअघि बाइडेनले सङ्क्रमण रोग विशेषज्ञ डा. एन्थोनी फौचीले खोप सुरक्षित भएको बताएको खण्डमा आफू कोरोना भाइरसको खोप सार्वजनिक रूपमा लिन तयार भएको बताएका थिए ।
त्यस्तै, ह्यारिसले पनि सो खोप लिने बताएकी थिइन् । यता डोनाल्ड ट्रम्पले भने हालसम्म उक्त खोप लिएका छैनन् र ह्वाइट हाउसको मेडिकल टिमले नभनेसम्म उनले सो खोप नलिने बताएका छन् ।
ट्रम्पलाई केहीअघि कोभिड–१९ सङ्क्रमण भएपछि उनलाई मोनोक्लोनल एन्टिबडी दिइएको थियो । यसको केही समयपछि मात्र खोप लिन मिल्ने भएकाले उनले फाइजर खोप लिने सम्भावना बलियो छ ।
फइजर खोपलाई अमेरिकी खाद्य तथा औषधी प्रशासनले गत साता स्वीकृति दिएको छ ।















प्रतिक्रिया